विराटनगर । केही वर्षयता बी डिभिजनमा झरेको विराटनगरको रानी युवा क्लब जिल्लाको ए डिभिजनमा पुनः उक्लिएको छ । क्लबलाई ए डिभिजनमा उकास्न खेलेका १६ जना फुटबल खेलाडीलाई शनिबार सम्मान गरिएको छ । क्लबको नेतृत्व कमजोर भएकाले पनि बी मा झरेको बताइएको छ ।
गत वर्षदेखि क्लबमा अध्यक्ष बनेर सञ्जीव सुब्बाले नेतृत्व गरेपछि खेलाडीमा मनोबल बढेकाले ए डिभिजनमा चढेको खेलप्रेमीले बताएका छन् । मोरङमा १० वटा टीम ए र चार वटा बी डिभिजनमा रहेका छन् ।
क्लबमा आवद्ध राजकुमार खड्काका अनुसार १४ वटा टीम मध्ये ४ वटा बी डिभिजनमा थिए । हालै भएको लिग गेमबाट दुई टीम बी मा झरेका थिए भने दुई टीम ए मा उक्लिएका थिए ।
क्लबका खेलाडीलाई मेडल र जर्सी दिएर सम्मान गरिएको छ । पूर्वराष्ट्रिय खेलाडी तथा विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोर शाही, वडाध्यक्ष उद्धव भुजेल, खेलकुद महासंघ मोरङका अध्यक्ष मनोज खड्का, क्लबका अध्यक्ष सञ्जीव सुब्बालगायतले खेलाडीलाई सम्मान गरे ।
वि.सं. २०१६ सालमा स्थापना भएको क्लवबाट उत्पादन भएका सयौं खेलाडीले देश विदेशमा फुटवल खेलिसकेका छन् । हाल खेलाडीलाई प्रतियोगितामा पठाउन वा प्रशिक्षण दिनसमेत क्लबलाई आर्थिक संकट छ । अध्यक्ष सुब्बाले क्लबको पुरानो शानलाई कायम राख्न क्लबसँग हालसम्म जोडिएका व्यक्तिहरूको सहयोग नै काफी हुने बताउँछन् ।
View : 111
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved