Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

विद्यार्थीमा उद्यमशील सोच बनाउन ‘बिजनेस एट स्कुल’

उद्‌घोष संवाददाता
२५ माघ २०८२, आइतवार

विराटनगर । उद्योग व्यवसाय क्षेत्रमा युवा विद्यार्थीहरूलाई प्रेरित गर्दै स्वदेशमै स्वरोजगारी र रोजगारीको अवसर सिर्जना गर्न उद्योग संगठन मोरङले ‘बिजनेस एट स्कुल’ कार्यक्रमलाई निरन्तरता दिएको छ । 

कार्यक्रमको दोस्रो श्रृंखला विराटनगरको सत्यनारायण माध्यमिक विद्यालयमा सम्पन्न गरिएको छ । 

कक्षा ९ देखि १२ का विद्यार्थीका लागि टेस्ट द ट्रेनिङ कार्यक्रम सञ्चालन गरेको हो । 

जस अन्तरगत मनमोहन पोलिटेक्निकले इन्टरनेट अफ थिंग्स, ज्ञान अटोमेसनले इण्डष्ट्रिज अटोमेसन, शीर्षक ईन्टरप्राईजेजले सीसीटीभी क्यामेरा जडान, इन्द्र मोवाइल सेन्टरले मोबाइल मर्मत, कविता ट्रेड सेन्टरले ल्यापटप मर्मत सम्बन्धी विषयमा तालिम र प्रशिक्षण दिएको जनाइएको छ ।

सोही अवसरमा प्लास्टिकको पुनः प्रयोग गरी बनाइएका सामाग्रीहरूको प्रदर्शनी, करियर काउन्सेलिङ, सीप तथा उत्पादन प्रदर्शनी, प्रत्यक्ष तालिम, विद्यार्थीका लागि भी–आर मार्फत भर्चुअल उद्योग भ्रमण गराइएको जनाइएको छ ।

साथै विजनेश आइडिया समेत प्रस्तुत गरी सफल उद्योगी व्यवसायीहरूको अनुभव आदान प्रदान गरिएको संगठनले जनाएको छ । 

यस्तो प्रयासले कक्षा कोठाभित्र सीमित रहेका विद्यार्थीहरूको सिकाइलाई जीवन उपयोगी बनाउने, विद्यार्थीको रुचि, क्षमता र भविष्यका सम्भावनाहरू पहिचान हुने र युवाहरूमा रहेको अन्योलतालाई चिर्दै स्थानीयस्तरमा पनि अवसर निर्माण हुने संगठनका उपाध्यक्ष सुरेन्द्र गोल्छाले बताए ।

सत्यनारायण माविका प्रधानाध्यापक मनोज भट्टराईले कार्यक्रमका माध्यमबाट विद्यार्थीहरूलाई स्वदेशमै सफल उद्यमी बन्न सक्ने अवसर सिर्जना गरेको बताए ।

कार्यक्रमलाई आगामी दिनमा अन्य विद्यालयहरूमा सञ्चालन गर्ने लक्ष्य लिएको उद्योग संगठन मोरङले जनाएको छ । 

कार्यक्रम सञ्चालनका लागि इन्स्योर परियोजना, क्वालिटी, एनभीक्यूएस परियोजनाले प्राविधिक सहयोग गरेको हो ।

संगठनले गत मंसिर २४ मा बुढीगंगा–१ स्थित नरग्राम माध्यमिक विद्यालयमा पहिलो पटक ११ वटा उद्योगलाई समेटेर ‘बिजनेस एट स्कुल’ सञ्चालन गरेको थियो । 

यस पटक १६ वटा उद्योगलाई कार्यक्रममा समेटिएको र विद्यार्थीहरूलाई भीआर प्रयोग गरी उद्योगको भर्चुअल भ्रमण गराइएको संगठनका कार्यसमिती सदस्य तथा इण्डष्ट्रिज एकेडेमिया लिङ्केज कमिटीका संयोजक सृजन प्याकुरेलले बताए ।

View : 66

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved