विराटनगर । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड मोरङको २५औं वार्षिक साधारणसभा सभा सोमबार विभिन्न कार्यक्रम गर्दै सम्पन्न भएको छ ।
साधारणसभामा पूर्व सांसद एवं साहित्यकार कुन्ता शर्मालाई १५ हजार ५५५ रुपैयाँ राशीको स्वर्गीय किशोरी खतिवडा स्मृति पुरस्कार प्रदान गरिएको छ । त्यसैगरी ११ हजार ५५० रुपैयाँ राशीको दधिराम स्मृति पुरस्कार रुपनारायण अधिकारी तथा सोही राशीको हिरणकुमार थापा स्मृति पुरस्कार सहकारीकर्मी नरबहादुर कार्कीलाई प्रदान गरिएको हो ।
नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले साधारणसभाको उद्घाटन गरेका थिए ।
साधारणसभामा सहकारीका अध्यक्ष जीवन काफ्ले संचालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिक बर्ष २०७९/८० मा ३३ करोड ७३ लाख ६ हजार १२१ रुपैयाँ कूल कारोबार गरेको जानकारी दिए ।
उनले उक्त आवमा ४ करोड ८ लाख १५ हजार ९ रुपैयाँ आम्दानी भई ३ करोड ५२ लाख ६१ हजार ६८२ रुपैयाँ खर्च भएको बताए । साधारणसभाकै अवसरमा सहकारीले ज्येष्ठ शेयर सदस्य मध्ये ८० वर्षीय दुन माझीलाई नगद ५ हजारसहित सम्मानपत्र प्रदान गरेको छ ।
यसैगरी ७५ वर्ष उमेर पूरा गरेका १९ जना सेयर सदस्यहरुलाई औषधी खर्च वापत २ हजार रुपैयाँ नगदसहित सम्मानपत्र गरिएको थियो ।
त्यसैगरी राष्ट्रिय सहकारी बैंक कोशी प्रदेश प्रबन्धक प्रभु पोखरेल, राष्ट्रसेवक सहकारीबाट सबैभन्दा धेरै ग्यास खरिद गर्ने फेमस चाट हाउसका आनन्दभुषण खड्कालाई पनि सम्मान गरिएको संचालक एवं नेपाल निजामति कर्मचारी संगठन मोरङका अध्यक्ष ओम सुवेदीले जानकारी दिए ।
राष्ट्रसेवक सहकारीमा हाल १ हजार ८२६ जना सेयर सदस्य रहेका छन् । साधारणसभाले आगामी बर्ष सदस्यको संख्या दुई हजार पुर्याउन लक्ष्य लिएको अध्यक्ष काफ्लेले बताए । सहकारीले बचततर्फ ६ देखि ११ प्रतिशत र ऋण लगानीमा १० देखि १२ प्रतिशत ब्याज लिंदै आएको छ ।
त्यसका साथै परिवार राहत कार्यक्रम, अक्षयकोष स्थापना, सहकारी अध्ययन तथा सूचना केन्द्र संचालनलगायतका क्रियाकलाप गर्दै आएको छ ।
सोही अवसरमा अध्यक्ष काफ्लेले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन साधारणसभाले सर्वसम्मत पारित गरेको जनाइएको छ ।
View : 165
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved