Biratnagar, Morang, Nepal
२० चैत २०८१, बुधवार
+977 21 450305, 515728, 578305
राजनीति

संविधान संशोधन बहस नै वाहियात : झलनाथ खनाल

‘अहिलेसम्म कसैले त्यो विषय बाहिर ल्याएको पनि छैन । उनीहरुले संविधान किन संशोधन गर्ने भनेर जनताका सामु ल्याउन पनि सकेका छैनन् । मध्यरातमा गरिएको भनिएको सात बुँदे सहमति नै पनि प्रष्ट रुपमा ल्याएका छैनन्। त्यसैले यी सबै वाहियात र बेतुकका कुराहरु हुन्’ खनालले भने।
उद्‌घोष सम्वाददाता
२८ माघ २०८१, सोमवार

विराटनगर । पूर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिले चलिरहेको संविधान संशोधन सम्बन्धि बहस र प्रयासलाई वाहियात र बेतुकको कार्य भनेका छन् ।

‘यो संविधान लागु नै भएको छैन। यो संविधान अन्तर्गत बनाउनै पर्ने तीन दर्जनभन्दा बढी ऐन बनेका छैनन्’, सोमबार विराटनगरमा पत्रकारहरुमाझ पूवर्ए प्रधानमन्त्री खनालले भने ‘संविधानाको भाग ४ मा उल्लेख भएका निर्देशक सिद्धान्तहरु एउटा पनि लागू भएको छैन। अनि पूरा लागू नै नभएको संविधान संशोधन के का लागि ? कुन उद्देश्य पूर्तिका लागि ?’

प्रतिनिधिसभाका दुई ठूला दलहरु कांग्रेस र एमालेले सत्ता सहकार्य थाल्दा सात बुँदे सहमति गर्दै संविधान संशोधनलाई मुख्य लक्ष्य बनाउने भनेका थिए। तर, कुन र के मा संशोधन गर्ने भन्ने अहिलेसम्म ती दुई ठूला दलले बाहिर ल्याउन नसकेको खनालको भनाइ छ।

‘अहिलेसम्म कसैले त्यो विषय बाहिर ल्याएको पनि छैन । उनीहरुले संविधान किन संशोधन गर्ने भनेर जनताका सामु ल्याउन पनि सकेका छैनन् । मध्यरातमा गरिएको भनिएको सात बुँदे सहमति नै पनि प्रष्ट रुपमा ल्याएका छैनन्। त्यसैले यी सबै वाहियात र बेतुकका कुराहरु हुन्’ खनालले भने।

जस्तोसुकै शासकीय स्वरुपले पनि श्रमिक र किसानलाई, गरिब र देशमा भइरहेको दमन अनि भ्रष्टाचारलाई कहाँ छुन्छ भन्दै खनालले भने ‘मेजर पार्टीहरु जनतालाई ठग्ने काममा लागेका छन्। यस्तो जनता ठग्ने काम बन्द गरुन् मेजर पार्टीहरुले।’ संविधान संशोधन आवश्यक नै नभएको हो त भन्ने प्रश्नमा खनालले अहिलेको संविधानको १० वर्षे समिक्षा हुनुपर्ने तर्क अघि सारे।

‘पहिलो कुरा आम जनताबाट संविधानको सिंहावलोकलन गरौं । १० वर्षमा के भयो, के भएन ? संविधान अनुसार देश कता जानुपथ्र्यो, कता गयो भन्ने विषयमा सिंहावलोकन गरौं’ उनले भने ‘ त्यसैले अहिले नै टुप्पीका कुरा नगरौं फेदका कुरा गरौं। संविधान राम्रोसँग लागू भएकै छैन ।

संविधानको भाग ४ ले अर्थतन्त्र, संस्कृति, शिक्षा, स्वास्थ्य जस्ता तमाम विषयको व्याख्या र कार्यक्रम तय गरेको छ । ती कुन कुरा लागु भयो? अनि अहिले के का लागि संशोधन? संविधान किन ठीक ढंगले लागु भएन, पहिले सिंहावलोकन गरौं।’ मुलुकमा अहिले कांग्रेस र एमाले मिलेर दुई पार्टीको अधिनाकत्व लाद्ने व्यर्थको प्रयास गरिरहेको पनि उनको आरोप छ ।

‘अहिले देश अग्रगतिभन्दा अधोगतितिर छ, लोकतान्त्रिक मूल्य मान्यतामाथि चुनौती छ’ उनको दाबी छ ‘आर्थिक प्रगति छैन। उद्योगधन्दा विकास भएन। कृषि गतिहीन छ। बेरोजगारी बढिरहेको छ। भ्रष्टाचारी अब समातिन्छन् कि भनेको भ्रष्टाचारीले उल्टै उन्मुक्ति पाइरहेका छन्। यो अवस्थामा दुई दलले अधिनायकत्व लाद्ने नाकाम प्रयास गरिरहेका छन् ।’

View : 354

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved