Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

खोटाङ

निर्वाचन कर्मचारी तालिममा ‘खाना खाएर कि नखाई’ जाने भन्नेमै अन्यौल !

उद्‌घोष संवाददाता
१३ फागुन २०८२, बुधवार

विराटनगर । प्रतिनिधि सभा निर्वाचनमा खटिने निर्वाचन अधिकृत लगायतका कर्मचारीका लागि जिल्ला निर्वाचन कार्यालय खोटाङले बिहानै तालिममा बोलाउँदा कर्मचारीहरूबीच खाना खाएर जाने कि नखाई जाने भनेर अन्यौल भएको छ । उक्त अन्यौलका कारण जिल्ला निर्वाचन कार्यालयले औपचारिक रुपमा सूचना नै जारी गर्नुपर्ने अवस्था बनेको छ ।

फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन हुुँदैछ । निर्वाचन सम्पन्न गर्न अहिले प्रत्येक जिल्लाका निर्वाचन क्षेत्रमा खटिने कर्मचारीहरूलाई तालिम अभिमुखीकरण चलिरहेको छ ।

तर, खोटाङमा भने कर्मचारीले बिहानको समयमा तालिममा बोलाउँदा निर्वाचन कार्यालयले खाना खुवाउने कि नखुवाउने भन्ने अन्यौल भएको थियो । 

कर्मचारीहरूले निर्वाचन कार्यालयमै जानकारी माग्न थालेपछि कार्यालयले पनि बुधबार सूचना निकालेर घरैमा खाना खाएर आउन भन्नु परेको हो ।

खोटाङमा निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूका लागि बिहीबार र शुक्रबार बिहान ८ः३० बजे अभिमुखीकरण आयोजना गरिएको जिल्ला निर्वाचन कार्यालय खोटाङले जनाएको छ ।

उक्त अभिमुखीकरणमा खाना खाएर आउने कि नखाई भन्ने विषयमा कर्मचारीहरूबाटै व्यापक जिज्ञासा आएपछि जिल्ला निर्वाचन अधिकारी रबिन मगरले सबै सहभागीलाई ‘घरबाटै खाना खाएर उपस्थित हुन’ भनेका हुन् ।

सूचनामा भनिएको छ, ‘खाना खाएर आउने कि नखाई आउने भनी केही व्यक्तिहरूबाट जिज्ञासा आएको हुँदा सो सम्बन्धमा सबै मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरू खाना खाएर उपस्थित हुने व्यहोरा स्पष्ट पारिन्छ ।’

कार्यालयले बिहानको खाना घरैबाट खाएर आउन सूचना गर्दै दिउँसोको खाजा भने जिल्ला निर्वाचन कार्यालयले खुवाउने उल्लेख गरेको छ ।

पहाडी भूगोल भएका कारण सदरमुकाम दिक्तेल बजार पुग्न बिहानै हिंड्नु पर्ने बाध्यता रहेको तथा कतिपय कर्मचारीहरू डेरामा बस्ने भएकाले उनीहरूले खाना खुवाउने, नखुवाउने बिषयमा कार्यालयमा जिज्ञासा राखेका हुन् ।

निर्वाचनमा खटिएका खोटाङका छैटौं तहका एक कर्मचारीले भने, ‘निर्वाचन कार्यालयको सूचनाले कर्मचारीले खाना खानै नपाएको जस्तो पनि अर्थ लागेको छ । तर, कतिपय हाम्रा साथीहरूलाई बिहानको खानाको व्यवस्थापन गरेर तालिममा पुग्न निकै कठिन छ, पहाडी क्षेत्रमा कर्मचारीका लागि परेको यस्तो समस्यामा आयोग बेखबर बनेको अनूभुति भएको छ ।’

View : 168

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved