सुनसरी : वचतकर्ताको करिब ४० करोड बचत रकम अपचलन गरेको आरोपमा इटहरीको अम्बे कोशी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित पाँच जना सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा संस्थाका अध्यक्ष फणीन्द्र मगरसहित शिला गजमेर, राहुल अग्रवाल र कुमार आले रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका थप एक जनाको नाम प्रहरीले खुलाएको छैन ।
वचतकर्ताहरूको करिब ४० करोड बचत रकम फिर्ता गर्न नसकेपछि पीडितहरूले जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी दिएका थिए । प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले पनि सहकारीका अध्यक्षसहित सञ्चालकका विरुद्धमा ठगी मुद्दा दायर गरेपछि उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
ठगी प्रकरणको प्रारम्भिक अनुसन्धान सुरु भैसकेको र पक्राउ परेकाहरुको बयानका आधारमा थप ब्यक्ति पनि पक्राउ पर्न सक्ने सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिपिन रेग्मीले जानकारी दिए ।
यसअघि तीन महिनायता वचत गरेको रकम फिर्ता गर्न माग गर्दै वचतकर्ताहरू आन्दोलित बनेका थिए । वचतकर्ताहरूले इनरुवास्थित प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय र सञ्चालकको घर घेराउसमेत गरेका थिए । पाँच हजार बढी सेवाग्राहीहरूको रहेको सो सहकारीमा ३ सय सेयर सदस्य रहेका छन् ।
सो सहकारीले मोरङको विराटनगर, बिराटचोक र झापाको दमक गरी ३ स्थानमा सेवा केन्द्रसमेत राखेर सेवा सञ्चालन गरीरहेको छ । यता सहकारीले भने व्यापार व्यावसायमा इतिहाासमै ठूलो संकट र बैंकमा तरलताको अभाव रहेको कारण बचतकर्ताहरुले मागेको बचत रकम एकै पटक फिर्ता गर्न नसकिएको जनाएको छ ।
बजारमा लगाएको कर्जासमेत ऋणीले एकै पटक तिर्न सक्ने अवस्था नरहेको कारण बचत फिर्तामा समस्या भएको सहकारीको भनाइ छ ।
View : 219
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved