उद्योग वाणिज्य महासंघ कोशीको भवन शिलान्यास
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको कार्यालय भवन सोमबार भव्य कार्यक्रमका साथ शिलान्यास गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकाल, महासंघका पूर्वकेन्द्रीय अध्यक्ष चण्डिराज ढकाल र महासंघको कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत लगायतले बुढीगंगा गाउँपालिका–२ सक्मामा ३ करोड २९ लाख रुपैयाँको लागतमा निर्माण हुने कार्यालय भवन शिलान्यास गरिएको हो ।
महासंघले दुई सय मानिस अट्ने सभा हल, अतिथि गृह र सुविधा सम्पन्न अढाइ तले सचिवालय भवन निर्माण हुने जनाएको छ ।
सोही अवसरमा महासंघ कोशी प्रदेश समितिको सातौं प्रदेश सभा सम्पन्न गरिएको छ । महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले महासंघको न्यून बजेटका वावजुद पनि कार्यालय भवन निर्माण गर्ने अठोटका साथ अघि बढेको बताए । उनले भवन निर्माणमा सहयोग गर्न जिल्ला नगर उद्योग वाणिज्य संघ तथा उद्योगी व्यवसायीहरूलाई आग्रह गरे ।
अध्यक्ष राउतले निरन्तरको न्यून आर्थिक वृद्धिको अवस्था, अर्थतन्त्रमा संरचनागत समस्या, उत्पादन मूलक उद्योग क्षेत्रको संकुचन, न्यून उत्पादन तथा उत्पादकत्व, बढ्दो उत्पादन लागत, कमजोर प्रतिस्पर्धी क्षमता, कृषिप्रति विकर्षण, आधारभूत खाद्य पदार्थमा समेत परनिर्भरता बढेको भन्दै चिन्ता व्यक्त गरे । उनले अहिले पनि उद्योग व्यवसाय क्षेत्रले लय पक्रिन नसकेको बताए ।
चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले कूल ९ खर्ब २१ अर्ब १६ करोडको वैदेशिक व्यापार गर्दा ९८ अर्ब ७८ करोड ९२ लाख रुपैयाँ बराबरको मात्रै निर्यात भएको बताए ।
सरकारले छ महिनामा वस्तु तथा सेवाको आयातबाट २ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ राजस्व संकलन गरेकोमा खाने तेल (भटमास, सूर्यमुखी र पाम) को हिस्सा २५ अर्ब २ करोड रहेको बताए ।
अन्य देशबाट धेरै आयात हुने वस्तुको उत्पादन नेपालमै गर्ने गरी सरकारले सर्वेक्षण गरेर उद्योगीहरूलाई अगाडि बढ्न सहयोग गर्नुपर्ने उनले बताए ।
नेपालबाट क्लिंकर, प्लाइउड, अदुवा, चिया, अलैंची, कफी जस्ता कैयौं नेपाली उत्पादन राम्रो गरी निर्यात हुने गरेको बताए ।
अध्यक्ष राउतले सरकारले नेपालको आर्थिक तथा व्यावसायिक वातावरण सुधार गर्नका लागि अध्यादेशमार्फत विकास, औद्योगिकीकरण, लगानी, विदेशी विनिमय परिचालन र आयोजनाहरूका लागि जग्गा प्राप्ति लगायतका क्षेत्रमा सहजीकरण गरेको बताए । उनले परियोजना विकास गरी लगानीकर्ताका लागि विकल्प दिनसक्ने गरी प्रदेशस्तरका निकायबाट पर्याप्त काम नभएको गुनासो गरे ।
‘हामीले विगतमा लगानी सम्मेलनका लागि पहल गर्दै आएकोमा २०८२ बैशाखमा यो सम्मेलन हुन गइरहेको छ, प्रदेश सरकारसँग लगानी सम्मेलन आयोजनाका लागि सहकार्य गर्न हामी तयार छौं’ उनले भने, ‘लगानी सम्मेलनका अलावा पर्यटन वर्ष २०८२ र चिया सम्मेलनको समेत कोशी प्रदेश सरकारले आयोजना गर्न लागेको छ, तर यस प्रदेशमा लगानीको वातावरण बिग्रदै गएको महसुस गरिएको छ, म यसतर्फ ध्यानाकर्षण गराउँदछु ।’
उनले कोशी प्रदेशकै प्रसिद्ध धार्मिकस्थल ताप्लेजुङको पाथीभरा क्षेत्रमा धार्मिक पर्यटनको विकासको लागि महत्वपूर्ण पूर्वाधारका रुपमा निर्माण हुन लागेको केवलकार निर्माणको क्रममा विवाद उत्पन्न हुनु निकै दुःखद् भएको बताए ।
पर्यटन क्षेत्रमा पूर्वाधारको कमीले पर्यटक संख्यामा बृद्धि हुन नसकेको, रोजगारी सिर्जना हुन नसकिरहेको अवस्थामा निजी क्षेत्रलाई लगानीको लागि प्रेरित गर्नुपर्ने अवस्थामा आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी अघि बढेको केबलकार परियोजनालाई अवरोध गर्नु कदापि उचित नहुने उनले बताए । उनले विवाद र अवरोधलाई वार्ता संवादको माध्यमद्वारा समाधान गर्न आग्रह गरे ।
पाथीभरा केबलकारको लगानीकर्ता समेत रहेका महासंघका केन्द्रीय अध्यक्ष चन्द्र ढकालले भवन शिलान्यास तथा सातौं प्रदेश सभाको उद्घाटन गर्ने कार्यक्रम रहे पनि मौसमका कारण प्लेन नउड्दा उनी आउन सकेनन् ।
View : 41
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved