Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

तस्करी रोक्न कांग्रेसको आग्रह : मोरङका सिडियो भट्टराईद्वारा छानविन गर्न प्रहरीलाई निर्देशन

मध्यरातमा सीमा क्षेत्रमा प्रहरी प्रशासनकै सहमतिमा तस्करी हुने गरेको उद्घोष दैनिकमा समाचार प्रकाशित भएपछि कांग्रेसले पार्टीको तर्फबाट प्रशासनको ध्यानाकर्षण गराएको छ ।
उद्‌घोष सम्वाददाता
२४ असोज २०८१, बिहिवार

विराटनगर । भारतको सीमावर्ती मोरङको दक्षिणी क्षेत्रमा भइरहेको तस्करी रोक्न नेपाली कांग्रेसले जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ ।

मध्यरातमा सीमा क्षेत्रमा प्रहरी प्रशासनकै सहमतिमा तस्करी हुने गरेको उद्घोष दैनिकमा समाचार प्रकाशित भएपछि कांग्रेसले पार्टीको तर्फबाट प्रशासनको ध्यानाकर्षण गराएको छ । बुधबार मोरङ कांग्रेसका कार्यवाहक सभापति भक्ति माझीको नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई ज्ञापनपत्र बुझाएको हो । 

कांग्रेसले बैठकबाट निर्णय गरेर तस्करी खुल्ला भएको र अन्य अपराधका घटना पनि हुने भएकाले तत्काल रोक्न प्रशासनको ध्यानार्कषण गराएको ज्ञापनपत्रमा जनाइएको छ । ‘सीमानामा कुनै बाउण्डरी नभएको कारण हुने आपराधिक गतिविधि तथा तस्करी नियन्त्रण गर्ने जिम्मेवारी स्थानीय प्रशासन, प्रहरी र भंसार विभागको रहेको हुन्छ’ ज्ञापनपत्रमा भनिएको छ ।

यस्तो विषयमा नेपाली कांग्रेसको गम्भिर ध्यानाकर्षण भएको र यस्ता गतिविधिले अत्य आपराधिक घटना वृद्धि हुन सक्ने अवस्थालाई रोक्न सम्बन्धित निकाय सजग हुनुपर्ने कांग्रेसको बैठकले निर्णय गरेको छ । यसैबीच बुधबार उद्घोष दैनिकमा समाचार प्रकाशित भएलगत्तै प्रजिअ भट्टराईले जिल्ला प्रहरी कार्यालयलाई त्यस बारे छानविन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन् ।

दशैँको मुखमा भारतसँग सीमा जोडिएका मोरङका दक्षिणी नाकाहरूमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्ला प्रशासन र भंसार कर्मचारीको जानकारीमै भंसार छलीको कारोबार हुँदै आएको छ । रातको १२ बजेपछि ३ घण्टा सीमाका नाकाहरूमा भंसार छलीका मालवस्तु ओसारपसार गरिने गरिएको छ । 

झापा भद्रपुरका कपडाका ठुला कारोबारी सञ्जीव घोषले मोरङको नाका खुल्ला पाएकाले  कपडाको कारोबार गर्न भारतीय नागरिक अशोक सहनीलाई खटाएका छन् । नेपालतर्फ नै डेरामा बस्ने सहनीले भरिया मार्फत कपडा बोकाएर नेपाल भित्र्याउँछन् ।

भंसारको मुल नाकाबाट अकवर मिया, सवनम खातुन, सुरेश यादव, राजकुमार रौनियार, बब्लु अग्रवाल, पशुपति कामतलगायतले भंसार छलीका सामान नेपाल भित्र्याउँछन् । गणेश साह र ओम साहले दक्षिण गेटबाट, गुड्डु मियाले मटेरुवा नाकाबाट सामान ल्याउने गरेका छन् ।

नोचा नाकाबाट सुमन साह, नादिर मिया, रंगेली नाकाबाट बिल्ला साह, बरडंगा नाकाबाट चिरिञ्जीवी खतिवडा, सिक्टी नाकाबाट वरुण साह र गुगोली पण्डित, र अरुवा मिया नाम गरेका व्यक्तिले भंसार छलीको कारोबार गर्दै आएका छन् ।

View : 173

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved