Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘फ्लो साइटोमेट्रि’ सेवा सुरु

उद्घोष सम्वाददाता
२३ कार्तिक २०८१, शुक्रवार

चितवन, २३ कात्तिक । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सर भएका बिरामीको प्रकार परीक्षण सुरु गरिएको छ ।

यसअघि नमूना बाहिर पठाइदै आएकोमा उपकरण खरिद गरेर यही परीक्षण सुरु गरिएको हो ।

अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार रक्तक्यान्सरका प्रकार परीक्षण गर्ने फ्लो साइटोमेट्रि सेवा सुरु गरिएको हो ।

यसका लागि आवश्यकपर्ने उपकरण एक करोड ५० लाखमा खरिद गरेर जनशक्तिलाई तालिम दिएपछि सेवा सुरु गरिएको हो ।

उनका अनुसार एक जना डाक्टर र एकजना प्राविधिकलाई भारतको टाटा मेमोरियल क्यान्सर अस्पतालमा तालिमका लागि पठाइएको थियो ।

तालिमप्राप्त जनशक्ति र उपकरण आएसँगै सेवा सुरु गरिएको उनले जानकारी दिए ।

अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार यसअघि यो परीक्षण धेरै भारत पठाउने गरिन्थ्यो ।

केही नमूना काठमाडौँ जाने गर्दथ्यो ।

नतिजा आउन १५ दिनभन्दा बढी समय लाग्ने गरेकोमा अहिले पाँच दिनमा नतिजा आउने गरेको उनले जानकारी दिए ।

बाहिर पठाउँदा ३० हजारभन्दा बढी खर्च हुने गरेकोमा यहाँ परीक्षण हुँदा १२ हजार मात्रै लाग्ने गर्दछ ।

अस्पतालमा रक्त क्यान्सरका बिरामी धेरै नै हुने भएकाले बिरामीलाई सहज भएको छ ।

उनले भने “छिटो रोग पहिचान गर्न पनि सहज भएको छ ।” कार्यकारी निर्देशक डा पौडेलले अस्पतालका सेवा विस्तार गर्ने कार्यमा आफू लागिरहेको बताए ।

अस्पतालमा थन्किएर बसेको सिटी स्क्यान मर्मत गरेर सञ्चालनमा ल्याइएको छ,भने लामो समयदेखि रोकिएको मेमोग्राम सेवा छिट्टै सञ्चालनमा ल्याइदै छ । रासस

View : 143

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved