विराटनगर : तिहारको बेला कोशी प्रदेशका विभिन्न जिल्लामा जुवातास खेल्ने ३६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जुवाडेहरुबाट करिब ३ लाख रूपैयाँ पनि बरामद गरेको सम्बन्धित जिल्लाका प्रहरी कार्यालयले जनाएका छन् ।
प्रहरीका अनुसार शुक्रबार झापाको गौरादह नगरपालिका–३ बस्ने युवराज खड्काको घरमा जुवातास खेलिरहेका १५ जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीले सोही नगरपालिका–४ बस्ने ४७ वर्षीय टंक बरालसमेत १५ जनालाई शुक्रबार बिहान पक्राउ गरेको हो । उनीहरूबाट नगद १ लाख ३५ हजार ९ सय २० रूपैयाँ, कौडा १६ थान र ३ बुङ तास बरामद भएको छ ।
त्यसैगरी भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पान्धारे बजारस्थित सम्झना होटलमा जुवातास खेलिरहेका पाँच जना पक्राउ परेका छन् ।
प्रहरी चौकी पान्धारेबाट खटिएको प्रहरीले होटल सञ्चालक सोही ठाउँ बस्ने ३६ वर्षीय राजकुमार तामाङसमेत पाँच जनालाई बिहीबार राति पक्राउ गरेको हो । उनीहरूबाट नगद १३ हजार ४० र १ बुङ तास बरामद भएको छ ।
लक्ष्मी पूजाको दिन आइतबार उदयपुरको चौदण्डीगढी नगरपालिका–७ कल्याण चोकस्थित खाली घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४६ वर्षीय बयान राईसमेत पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४ हजार ३ सय ५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको बताइएको छ ।
उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाई बजारमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४४ वर्षीय अजित कार्की समेत चार जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुन्दरपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार ६० र १६ पिस कौडासहित पक्राउ गरेको हो ।
संखुवासभाको चैनपुर नगरपालिका–३ तीनखोप्रे बस्ने ३६ वर्षीय हर्कमणि कटुवालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५१ वर्षीय प्रेमबहादुर कटुवाल लगायत सात जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार ३ सय २५ रूपैयाँ र १ बुक तासहित पक्राउ गरेको हो ।
View : 216
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved