Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

‘अपरेशन ब्राउन’ चलाउने प्रहरी निरीक्षक योञ्जन चैतको सर्वोत्कृष्ट प्रहरी

उद्‌घोष संवाददाता
६ वैशाख २०८३, आइतवार

Advertisement

विराटनगर । वडा प्रहरी कार्यालय भद्रपुर झापामा कार्यरत प्रहरी निरीक्षक मोतिलाल योञ्जन तामाङ चैत महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गरेको भन्दै प्रहरी निरीक्षक योञ्जनलाई सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो ।

उनले ‘अपरेसन ब्राउन’ अन्तर्गत भद्रपुर क्षेत्रमा लागुऔषध नियन्त्रणलाई अभियानकै रूपमा सञ्चालन गरी चैत महिनाभरी लागुऔषध सम्बन्धी १५ वटा मुद्दामा संलग्न ३२ जना अभियुक्तलाई पक्राउ गर्न सफल भएका थिए ।

उनीहरूको साथबाट ३४६ ग्राम ५७ मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित नगद तीन लाख रुपैयाँ बरामद भएको थियो । त्यसका लागि प्रहरी निरीक्षक योञ्जनले नेतृत्वदायी भूमिका निर्वाह गर्दै भन्सार छलीका १० लाख ४७ हजार बरावरको बिभिन्न अवैध सामानसमेत बरामद गर्न सफल भएका थिए ।

त्यस्तै, विभिन्न मुद्दाका नौ जना फरार प्रतिवादी पक्राउ गर्नुका साथै जेनजी आन्दोलनका क्रममा पूर्णरूपमा क्षतिग्रस्त वडा प्रहरी कार्यालय भद्रपुरको कार्यालय तथा ब्यारेक मर्मत सम्भार गरी आवश्यक फर्निचर, विद्युतीय सामग्री व्यवस्थापन तथा मेची बिटको पुनः स्थापनासमेत गरेकाले उनलाई सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

उनले प्रहरी चौकी मेचीपारिको नयाँ जग्गा प्राप्तिको लागिसमेत नेतृत्वदायी भूमिका निर्वाह गरी वडा प्रहरी कार्यालय भद्रपुरको नया“ भवन निर्माण तथा जग्गा प्राप्तिको लागि निरन्तर पहल गरिरहेको जनाइएको छ ।

View : 178

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved