विराट ट्रेड एक्स्पो : प्यानल पर्यटन
विराटनगर । मोरङ उद्योग व्यापार संघको आयोजनामा जारी विराट ट्रेड एक्स्पोमा आइतबार कोशी प्रदेशको पर्यटनको सम्भावनाका क्षेत्रबारे सरोकारवालाहरूबीच छलफल भएको छ ।
एक्स्पोमा संचालित थिमेटिक सेसनअन्तर्गत कोशी प्रदेशको पर्यटन उद्योग, अवसर र सम्भावनामाथि चर्चा भएको हो । कार्यक्रममा सहभागी प्यानलिष्टहरूले फस्टाउँदै गएको पर्यटन क्षेत्रलाई दिगो र प्रभावकारी बनाउनेबारे आफ्ना अनुभव सुनाए ।
नेपाल पर्यटन बोर्डका निर्देशक रोहिणी खनालले नेपालको समग्र पर्यटन अवस्था, सम्भावना र चुनौतीबारे प्रस्तुतिकरण गरे । उनले कृषि, संस्कृति, पदयात्रा र आतिथ्यसँग जोडिएको पर्यटनबाट जनस्तरसम्म लाभ पुर्याउन सकिने बताए । पर्यटन सेवामूलक उद्योग भएकाले यसमा मानव जनशक्तिको भूमिका महत्वपूर्ण हुने उनले स्पष्ट पारे ।
बोर्ड संघीय संरचनामा रहेर २६ वर्षदेखि अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवद्र्धन गर्दै आएको उल्लेख गर्दै खनालले आन्तरिक पर्यटन, उत्सव–महोत्सव प्रवद्र्धन र ब्रान्डिङमा समेत बोर्ड सक्रिय रहेको जानकारी दिए ।
‘नेपालको पर्यटन ब्रान्ड हिमाल हो’ उनले भने, ‘तर यससँगै कला, संस्कृति र पदयात्राको अनुभव पनि पर्यटकका लागि ठूलो आकर्षण हो ।’
खनालले पर्यटन क्षेत्रको नेतृत्व निजी क्षेत्रले गरिरहेको उल्लेख गर्दै प्रदेशस्तरमै स्पष्ट ब्रान्ड र आकर्षक प्याकेज विकास गर्नुपर्नेमा जोड दिए ।
संघका निवर्तमान अध्यक्ष नवीन रिजालले नेपालमा थोरै दूरीमा नै फरक–फरक मौसम र भूगोल अनुभव गर्न सकिने विशेषता रहेकोले यसलाई पर्यटन प्रवद्र्धनको महत्वपूर्ण अवसरका रुपमा लिइनु पर्ने बताए ।
प्राकृतिक सुन्दरता र धार्मिक महत्वले नेपालमा पर्यटनबाट ठूलो रोजगारी सिर्जना गर्न सकिने सम्भावना रहेको उल्लेख गरे । त्यसका लागि प्रचार–प्रसारको अभाव भने अझैपनि चुनौतीकै बिषय भएको बताए । त्यसका लागि सामाजिक सञ्जालको प्रभावकारी प्रयोग आवश्यक रहेको सुझाव दिए ।
पर्यटन व्यवसायी तथा कोशी पर्यटन वर्ष २०८२ निर्देशन समितिका सहसंयोजक भविषकुमार श्रेष्ठले कोशी प्रदेशको आधार नै पर्यटन भएको बताए । उनले प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदाबाट अझै धेरै अवसर सिर्जना गर्न सकिने जानकारी दिए ।
‘विभिन्न जातजातिका सांस्कृतिक महोत्सव र उत्सवलाई पर्यटन उत्पादनका रूपमा विकास गर्न सकिन्छ’ श्रेष्ठले भने, ‘भारतसँगको सामिप्यतालाई अवसरका रूपमा उपयोग गर्न सकिन्छ, बिहार, बंगाल र उत्तर प्रदेशबाट पर्यटक भित्र्याउन सकिन्छ र क्रस–बोर्डर टुरिजमको ठूलो सम्भावना रहेको छ ।’
विराटनगर विमानस्थलबाट भुटान, म्यानमार र बंगलादेशसम्मको हवाई सम्पर्क विस्तार गर्न सकिए कोशी प्रदेशको पर्यटनको विकासमा नयाँ आयाम थपिने दाबी गरे ।
छलफलमा सुन्दरहरैंचा उद्योग वाणिज्य संघका महासचिव एवं विराटचोकस्थित होटल नेपालिरिकाका निर्देशक आकाश दुलालले हालैको जेनजी आन्दोलनका कारण होटल क्षेत्रमा भएको क्षति, इन्स्योरेन्स प्रक्रियामा भएको झन्झट र सरकारी सहुलियतको समस्याबारे आफ्ना धारणा प्रस्तुत गरे ।
‘हामीले होटल पुर्ननिर्माण गरेर संचालन नै गरिसकेपछि सुविधा पाइने भयो भनेर सूचना पाइयो’ उनले भने, ‘तर त्यसअघि सरकारका निकाय धाउँदा धाउँदा थाकिएको थियो ।’
कोशी प्रदेश पर्यटन मन्त्रालयका सचिव डा. इन्द्रप्रसाद सापकोटा, होटल एसोसिएसन नेपालका केन्द्रीय सदस्य राजन श्रेष्ठ र आईएसएमटी कलेजकी अध्यापिका श्रृजा पोखरेल लगायतले पर्यटन क्षेत्रको सम्भावना र अवसरबारे आफ्ना अनुभव प्रस्तुत गरेका थिए ।
पर्यटन मन्त्रालयका सचिव डा. इन्द्रप्रसाद सापकोटाले निजी क्षेत्रले कठिन अवस्थामा पनि धैर्य देखाएको बताए । प्रदेश सरकारले नीतिगत रूपमा राहत र सहजीकरण गर्न पनि प्रयास गरिरहेको बताए । प्राकृतिक रुपमा रहेका पर्यटन क्षेत्रको प्रचार गरेमात्र पनि ठूलो उपलब्धि लिन सक्ने र यसमा निजीक्षेत्रसँग साथै हिड्न तयार रहेको बताए ।
होटल एसोसिएसनका केन्द्रीय सदस्य राजन श्रेष्ठले विराटनगरलाई भारतीय पर्यटकका लागि गेटवेका रूपमा विकास गर्न सकिने सुझाव दिए । उनले पदयात्रा, साहसिक पर्यटन र होटल उद्योगमा युवालाई जोड्नुपर्ने धारणा राखे । श्रेष्ठले कोशी प्रदेशमा समेत ठूलाठूला होटल निर्माण हुने क्रम बढेको भन्दै यसले पर्यटन क्षेत्रलाई सहयोग पुर्याउने बताए ।
छलफलमा कोशी प्रदेशमा पर्यटनको अपार सम्भावना रहेपनि त्यसका लागि स्पष्ट ब्रान्डिङ, समन्वय, पूर्वाधार र प्रभावकारी प्रचार आवश्यक रहेको विज्ञ प्यानलिष्टले बताएका थिए ।
View : 207
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved