Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

नेतृत्व फेर्ने एजेण्डामा पालिकासम्मै भेला गर्न डा शेखरको निर्देशन

अर्कोतिर कोइराला पक्षले जिल्ला सभापति एवं पूर्व सभापति, महासमिति सदस्य, पालिका सभापति लगायतको उपस्थितिमा गरेको प्रशिक्षणात्मक भेलालाई कांग्रेस कोशी प्रदेश समितिले मंसिर २२ मा आयोजना गर्न लागेको प्रदेश सम्मेलनलाई प्रभावित पार्ने उद्देश्यले गरिएको संस्थापन पक्षको बुझाइ छ । उक्त सम्मेलनको उद्घाटन सभापति शेरबहादुर देउवाले गर्दैछन् ।
उद्‌घोष सम्वाददाता
१९ मंसिर २०८१, बुधवार

विराटनगर । १५ औं महाधिवेशन नजिकिंदै गर्दा  नेपाली कांग्रेसभित्र नेतृत्व परिवर्तनको मुद्दा पार्टीको तल्लो तहसम्मै बहसका रुपमा चर्किने भएको छ । १४ औं महाधिवेशनमा सभापतिमा पराजित भएका केन्द्रीय सदस्य डा शेखर कोइराला समूहले मंगलबार विराटनगरमा कोशी प्रदेशका पालिका सभापतिहरूको भेला गरेर आप्mनो समूहको शक्ति प्रदर्शनको तयारी थालेको संकेत गरेको छ ।

भेला प्रशिक्षणको बैधानिकता नरहेको भन्दै केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलमार्फत संस्थापनले पत्राचार गरेपछि भेलामा सहभागी हुने कि नहुने भन्ने बिषयले विराटनगर हिंडेका पालिका सभापतिसहितका नेता कार्यकर्ताहरू अन्योलमा परेका थिए ।

मोरङका १७ वटा स्थानीय पालिका समितिको नेतृत्व गर्दै विराटनगर महानगर समितिका सभापति दीपक चापागाँईको अध्यक्षतामा विराटनगरकै जैन भवनमा भव्य भेला भने सम्पन्न भएको छ । भेलामा सहभागी हुन भन्दै काठमाडौंबाट हिंडेका केही संस्थापन पक्षका नेताहरू सोही पत्रका कारण विराटनगर नआई बाटैमा रोकिएका थिए ।

विराटनगरमा सम्पन्न भेलामा कोशी प्रदेशका १३७ स्थानीय तह मध्ये ११३ वटा पालिकाका सभापतिहरूको सहभागिता र समर्थन रहेको नेता शेखर कोइरालाले बताए । प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले कांग्रेस पार्टी राजनीतिक रुपमा बरालिएको भन्दै पार्टीलाई सही बाटोमा हिंडाउनका लागि पालिकासम्मै परिचालन हुन निर्देशन दिए ।

‘यो भेलाले गर्दा कसैले शंका गर्नुपर्ने, आत्तिनुपर्ने, डराउनु पर्ने काम छैन । धाकधम्कीबाट नडराइकन घर फर्किनुस्, तपाँईहरूको संरक्षण म गर्छु’ नेता कोइरालाले भने, ‘अहिले कांग्रेस बरालिएको छ, मैले यो भेलामा गुटगुट नभनिकन तपाँईहरूलाई बोलाएको हो, केही नेताहरु आउनु भएन, अब तपाँईहरूले यो भेलाको कुरालाई पालिकामै लगेर अबलम्बन गर्नुहोस् ।’

उनले पार्टीका विभिन्न भातृ संगठनको अधिवेशन हुन नसकेको भन्दै नेतृत्वलाई खबरदारी गर्न सहभागी नेता कार्यकर्ताहरूलाई आग्रह गरे । कोइरालाले १५ औं महाधिवेशन आगामी बर्ष विधान अनुसार नै हुनुपर्ने भएकोले अधिवेशन र महाधिवेशन हुन नसके नेतृत्वलाई प्रश्न गर्ने गरी पालिकादेखि नै तयार रहन समेत निर्देशन दिए । अहिले क्रियाशील सदस्यता वितरण र नवीकरण हुन नसकेका कारण पार्टी नेतृत्वले समयमा महाधिवेशन नगर्ने आशंकासमेत उनले व्यक्त गरे । 

‘अधिवेशन किन नगरेको भनेर गाउँमै भन्न सक्नुपर्छ, अहिले क्रियाशीलको कुराले समयमा अधिवेशन हुने अवस्था छैन भन्ने कुरामा ध्यान दिनुहोला’ कोइरालाले भने, ‘जति महाधिवेशन लम्बिंदै जान्छ, त्यति कांग्रेस कमजोर बन्दै जान्छ, सवैले समयमा गरौं भन्नुपर्छ ।’

नेता कोइरालाले पनि पार्टीको केन्द्रीय कार्यालयले पत्र पठाएर प्रशिक्षण भेला रोक्न दवाव दिएको स्वीकार गरे । तर उनले पार्टीको विधान अनुसार गर्नुपर्ने पार्टीका नियमित सम्मेलन र भेला हुन नसकेपछि पालिका सभापतिहरूकै आग्रहमा धेरै पहिले नै यो कार्यक्रम तय गरिएको प्रष्टिकरण दिए । उनले भेलाबाट पालिकाका सभापतिहरूको अधिकारलाई स्थापित गरिएको दाबी गरे ।

‘हामी तल्लो तहमा सभापतिहरूसँग कहिल्यै छलफल गर्दैनौं अनि हामी बलियो भनेर भन्छौं’ उनले भने, ‘यहाँ ११३ वटा पालिकाका पार्टीका सभापतिहरू आएका छन्, यो भेला गरेर पालिका सभापतिको अधिकार हामी सुरक्षित गर्छौं भनेर विश्वास दिलाएका छौं ।’

अर्कोतिर कोइराला पक्षले जिल्ला सभापति एवं पूर्व सभापति, महासमिति सदस्य, पालिका सभापति लगायतको उपस्थितिमा गरेको प्रशिक्षणात्मक भेलालाई कांग्रेस कोशी प्रदेश समितिले मंसिर २२ मा आयोजना गर्न लागेको प्रदेश सम्मेलनलाई प्रभावित पार्ने उद्देश्यले गरिएको संस्थापन पक्षको बुझाइ छ । उक्त सम्मेलनको उद्घाटन सभापति शेरबहादुर देउवाले गर्दैछन् ।

सम्मेलन अघि नै संस्थापन इतरले नेता कोइरालालाई वरिष्ठ नेता बनाउन र उक्त प्रदेश सम्मेलनमा सभापति शेरबहादुर देउवा लगत्तैको आसन र समय दिन माग गरेको छ । उक्त माग वेवास्ता गरेको भन्दै कोइराला पक्षले त्यसको पहिलो जवाफ मंगलबारको पालिका सभापतिहरूको भेला गरेर दिएको कांग्रेस नेताहरूको बुझाई छ ।

फेरियो निम्तो कार्ड र ब्यानर हटाउदै राख्दै

यसैबीच, शेखर पक्षका नेता कार्यकर्ताहरूको बाक्लो उपस्थितिमा आयोजित गर्न लागिएको भेलालाई संस्थापन पक्षले रोक्ने गरी पत्र पठाएपछि कार्यक्रममा सहभागी हुन काठमाडौंबाट हिंडेका नेता कार्यकर्ताहरू विराटनगर आइ पुगेनन् । 

प्रमुख वक्ताका रुपमा निम्तो कार्डमा नामै लेखेर प्रचार गरिएका केन्द्रीय सदस्य एनपी साउद सर्लाहीसम्म आएर त्यतै रोकिए । सभापति देउवा निकट मानिने साउद शेखर समूहले आयोजना गरेको कार्यक्रममा सहभागी हुन हिंडेको भन्ने सूचना पाएपछि उनलाई दवाव दिएर रोकिएको हुनसक्ने कोइराला निकट नेताहरूले बताए । 

साउद नआउने निश्चित भएपछि उनको नाम उल्लेखित निम्तोपत्रबाट नाम हटाएर अर्को डिजिटल निम्तो कार्ड प्रयोग गरिएको थियो ।

केन्द्रकै पत्रका कारण मंगलबार आयोजित पालिका सभापतिको भेला सुरु हुनुअघि मञ्चमा राखिएको ब्यानर हटाइएको थियो । ब्यानर बिनै कार्यक्रम सुरु भएर मन्तव्य समेत सुरु भएपछि पुनः पहिलेकै ब्यानरलाई मञ्चमा लगाइएको हो । 

ब्यानरमा ‘नेपाली कांग्रेस प्रथम ऐतिहासिक कोशी प्रदेशस्तरीय पालिका सभापति प्रशिक्षण कार्यक्रम २०ं८१ उद्घाटन समारोह’ लेखिएको थियो ।

उक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले भने पार्टीभित्र तित्तताको राजनीतिक कसैले गर्न नहुने तर्क गरेका थिए । उनले लोकतान्त्रिक पार्टीभित्र कसैलाई पनि निषेध गर्ने गरी राजनीतिक रेखा कोर्न नहुने उनले बताए । सभापतिको बन्ने भन्ने बिषयलाई मात्रै कांग्रेसभित्र बहस गराइए पार्टीभित्र झन ठुलो समस्या उत्पन्न हुने उनको तर्क थियो ।

‘कांग्रेसमा खाली सभापति को बन्ने भन्ने मात्रै बहस हुन्छ ?’ रिजालले भने, ‘हामी पहिले पार्टीको कुरा गरौं, सभापति देउवा दोस्रो र अन्तिम कार्यकालमा हुनुहुन्छ भन्ने प्रष्ट भइसकेको छ, पार्टीभित्र प्रतिष्पर्धाको कुरालाई भन्दा जनतामा छाएको निरासालाई चिर्न जरुरी छ ।’

प्रशिक्षणलाई केन्द्रीय सदस्यहरू सरिता प्रसाँई, किरण यादव, राजीव कोइराला, डा चन्द्रमोहन यादव, रुकमिणी कोइराला, पूर्व केन्द्रीय सदस्यहरू गुरुराज घिमिरे, कांग्रेस कोशी प्रदेश समितिका महामन्त्री उमेश थापा, मोरङ सभापति डिगबहादुर लिम्बू, उपसभापति एवं विराटनगर महानगरलिकाका मेयर नागेश कोइराला, सुनसरी जिल्ला सभापति केदार भण्डारी, भोजपुर सभापति विनोद बान्तवा, पाँचथर सभापति रुपनारायण जवेगू, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की लगायतका दर्जन नेताहरूले सम्बोधन गरेका थिए ।

उनीहरूले पार्टीको आगामी १५ औं महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्दै नेता डा शेखर कोइरालालाई सभापति बनाउन पार्टीको तल्लो तहसम्मै सक्रियता बढाउने कार्यक्रम गर्नुपर्नेमा जोड दिएका थिए ।

भेलामा संस्थापन पक्षका नेताहरु भने सहभागी भएनन् । प्रदेश समितिका महामन्त्री उमेश थापालगायत केही प्रदेश सदस्यहरु भने सहभागी भएका थिए । कोशी प्रदेश समितिले उक्त भेलालाइ अवैधानिक भन्दै आएको थियो ।

View : 100

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved