Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

विराट गोल्डकप

एनआरटीलाई पराजित गर्दै सिक्किम सेमिफाइनलमा

उद्‌घोष सम्वाददाता
१८ चैत २०८०, आइतवार

विराटनगर । पाहुना टोली सिक्किम ड्रागनले अतिरिक्त समयमा सङ्घर्षपूर्ण जित निकाल्दै आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनमा पुगेको छ ।

विराटनगरको सहिद रङ्गशालामा आइतबार भएको खेलमा बुढासुब्वा गोल्डकपको विजेता न्युरोड क्लब (एनआरटी) काठमाण्डौलाई २–१ गोलले पराजित गरी सिक्किम एनआरटी सेमिफाइनलमा पुगेको हो ।

जितसँगै सिक्किमले फाइनल प्रवेशको लागि मङ्गलबार हुने मच्छिन्द्र एफसी काठमाडौं र साउथर्न समिति एफसी कोलकाताको विजेता टिमसँग खेल्नेछ ।

जितको लागि सिक्किमका ह्यारिसन र आदर्श तामाङले गोल गरे । एनआरटीको तर्फबाट शिशिर लेखीले सान्त्वना गोल फर्काए ।

एनआरटीका अफिज ओलावालेले ४० औं मिनेटमा निकालेको पास शिशिरले गोल गरी टिमलाई अग्रता दिलाए । पहिलो हाफमा एक गोल खाएपछि दबाबमा परेको सिक्किमले दोस्रो हाफबाट आक्रामक खेल पस्कियो । ५९ औ मिनेटमा सिक्किमका ह्यारिसनले गोल गरी खेल बराबरीमा ल्याए । लाक्पा शेर्पाले मध्यभागबाट निकालेको पासलाई ह्यारीसनले डिबक्स भित्रबाट आकर्षक गोल गरे ।

निक्कै प्रतिस्पर्धात्मक खेलमा सिक्किमले जित निकाल्न अतिरिक्त समय कुर्नुपर्यो । निर्धारित ९० मिनेटको समय १–१ गोलको खेल बराबरी भएपछि थप गरिएको ३० मिनेटको अतिरिक्त समयको अन्त्यतिर ११९ औं मिनेटमा सिक्किमका आदर्श तामाङले विजय गोल गरे ।

सिक्किमका जसमान गुरुङलाई एनआरटीका खेलाडीले फल खेलेपछि रेफ्री श्रवण लामाले फ्रि किक दिएका थिए । आदर्शले प्रहार गरेको फ्रि किक बलले जाली चुमेको थियो । टिमको जितमा सिक्किमका आदर्श खेलको प्लेयर अफ द म्याच घोषित भए । उनले नगद ११ हजार पाए ।

एनआरटीले आक्रामक खेल पस्किँदै आधा दर्जन बढी गरेको पोस्ट आक्रमणलाई सिक्किमका प्रिसोले विफल पारेर टिमलाई अन्तिम चारको यात्रा गराए ।

एनआरटीका  रिचार्डले खेल सुरु भएको ७ औं मिनेटमा प्रहार गरेको बेल सिक्किमका प्रिसोले उत्कृष्ट बचाए । त्यसलगत्तै सिसिर लेखीले प्रहार बाहिरियो । २१ औ मिनेटमा एनआरटीका अफिज ओलावालेले प्रहार सिक्किमका किपर प्रिसोले उत्कृष्ट बचाए ।

२९ औ मिनेटमा सिक्किमका आदर्श तामाङले ३० यार्डदेखि गरेको प्रहार एनआरटीका गोलकिपर प्रमिजय गच्छदारले पन्च गरेर बल बारमाथिबाट फालिदिए ।

पहिलो हाफको अतिरिक्त समयको एक मिनेटमा मध्यभाग बाट बललाई वान भर्सेज वानमा लगेर एनआरटीका आफिज ओलावालेको डिबक्स नजिकबाट गरेको प्रहार सिक्किमको किपर प्रिसोले गोल हुनबाट बिफल पारिदिए ।

खेलको अन्त्यमा शिशिरले डिबक्स भित्रबाट गरेको प्रहार बाहिरिँदा खेल बराबरीमा ल्याउने सुन्दर अवसर चुकाए ।

हारपछि एनआरटीको प्रशिक्षक जीवन सिङकेमनले खेलाडीहरूबीच आन्तरिक तालमेल नमिलेको कारणले पराजय भोग्नु परेको बताए ।

‘आइतबार दुई जना खेलाडी काठमाडौं जानुपर्ने बाध्यता पनि भयो । दुई खेलाडी नभएको कारणले पनि हार भयो’ उनले भने ।

जितपछि सिक्किमका प्रशिक्षक कुन्जन भुटिया खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेकाले जित निकाल्न अतिरिक्त समय पर्खिनुपरेको बताए ।

सोमबारको खेल इटहरी गोल्डकपको विजेता चर्च ब्वाइज युनाइटेड र विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफबीच हुनेछ ।

View : 285

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved