विराटनगर । अन्तर्राष्ट्रिय चेन होटलका नेपाली संचालकहरुले वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐनका कारण आफुहरु समस्यामा परेको बताएका छन् । होटल संचालकहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटेर आफ्ना समस्या सुनाएका हुन् ।
उनीहरुले वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ मा भएको रोयल्टी सम्बन्धी नयाँ व्यवस्थाले अन्तराष्ट्रिय चेन होटलहरु नेपालबाट बाहिरिने अवस्थामा पुगेको भन्दै मन्त्री महतको ध्यानाकर्षण गराए ।
नेपालमा रहेका अन्तर्राष्ट्रिय चेन होटलहरुको कार्यसम्पादन समिक्षा गरी शुरु भएको र ती होटलहरुले पर्यटन विकासको क्षेत्रमा पुर्याएको योगदान, आर्थिक प्रभाव र विभिन्न सान्दर्भिक मेट्रिक्सका बारेमा राज्यको तर्फबाट उचित सहयोग हुनुपर्ने माग राखे ।
ऐनमा भएको रोयल्टी सम्बन्धी व्यवस्थाले धेरैजसो विदेशी ब्राण्ड नेपालमा आउन कठिन भएको र उक्त व्यवस्था रहिरहे नेपालमा हाल संचालित विदेशी चेन होटलहरु समेत बाहिरिने अवस्था आएको नेपाल उद्योग वाणिज्य महासंघ पर्यटन तथा हवाई समितिका सभापति देशबन्धु बस्नेतले बताए ।
छफलमा समितिका सभापति बस्नेतले नेपालमा विदेशी पर्यटक भित्र्याएर सोही अनुरुप विदेशी मुद्रा आर्जन गर्न समेत अन्तर्राष्ट्रिय चेन होटललाई नेपालमा सहज रुपमा आउने वातावरण बनाउनुपर्ने बताए ।
‘अहिलेको अवस्थामा नेपाली पर्यटन क्षेत्रको ब्राण्डिङ गर्ने भनेकै अन्तर्राष्ट्रिय चेन होटलले हो’ बस्नेतले भने, ‘उनीहरुले नै आफ्ना देशका नागरिकलाई नेपाल भ्रमणका लागि ल्याउन सहजिकरणको भुमिका निर्वाह गर्छन्, तर रोयल्टी सम्बन्धी नयाँ व्यवस्थाले चेन होटलहरु बाहिरिने अवस्थामा पुगेका छन् ।’
मन्त्री महतसँगको छलफलमा होटलका प्रतिनिधिहरुले अन्तर्राष्ट्रिय होटल ब्राण्डहरू सामान्यतया रोयल्टी वा टेक्नोलोजी ट्रान्सफर शुल्कमा सञ्चालन हुने कुरा जानकारी गराए । उनीहरुको त्यसका लागि खर्चिने लागत ऐनले निर्धारण गरेको ५ प्रतिशतभन्दा धेरै माथि हुने बताए ।
अहिले ऐनमा भएको नियामक व्यवस्था र होटल उद्योग मापदण्डहरूबीचको बेमेलले नेपालमा विदेशी चेन होटलहरु ल्याउन ठूलो समस्या सिर्जना गरेको बताए । होटल प्रतिनिधिहरुले प्रस्तुत गरेको समस्याहरुलाई मन्त्री महतले सकारात्मक रुपमा लिएको बस्नेतले जानकारी दिए ।
सभापति बस्नेतले भने– ‘मन्त्रीज्यूले हाम्रो कुरालाई सकारात्मक रुपमा लिनु भएको छ, लगानी सम्मेलन अगाडि नै छलफल गर्न सकिनेबारे जानकारी गराउनु भएको छ, आफ्नो सल्लाहकार टिमसमेतलाई राखेर अध्यायन गरेर थप छलफल गर्छु भन्नु भएको छ ।’
छलफलमा नेपालमा संचालित चेन होटलहरुका प्रतिनिधि अनिरुद्ध कुमार, होटल विकास दक्षिण एशिया क्षेत्रीय उपाध्यक्ष तथा मेरियट इन्टरनेशनलका किरण एन्डिकोट, युरेशिया विन्डहम होटल्स एण्ड रिसोर्ट्सका मार्केट प्रबन्ध निर्देशक निखिल शर्मा, हयात होटल्स कर्पोरशन भारत र दक्षिण एशियाका क्षेत्रीय उपाध्यक्ष अमित नागपाल, रेडिसन होटल समूहका अपरेशन प्रमुख तथा दक्षिण एशिया उपाध्यक्ष जावेद अली र सरोवर होटलका प्रबन्ध निर्देशक अजय के बकायाको उपस्थिति रहेको थियो ।
View : 133
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved