विराटनगर । कोशी प्रदेशका सवै जिल्लाका प्रमुख स्वास्थ्य संस्थाले एक बर्षमा हाँसिल गरेको प्रगति र स्वास्थ्य अवस्थाबारे तीन दिने समिक्षा सुरु भएको छ ।
स्वास्थ्य मन्त्रालयको आयोजनामा आर्थिक बर्ष २०८१–८२ मा संसोधित स्वास्थ्य कार्यक्रमहरूको प्रदेशस्तरीय एकीकृत बार्षिय समीक्षा शुक्रबारदेखि विराटनगरमा सुरु भएको हो ।
समिक्षा कार्यक्रमको उद्घाटन गर्दै कोशी प्रदेशका स्वास्थ्यमन्त्री भूपेन्द्र राईले १४ वटै जिल्लाका स्वास्थ्य कार्यालय र अस्पतालहरूलाई अझ बलियो बनाउनका लागि र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न मन्त्रालयले हरेक बर्ष सहयोग गर्दै आएको बताए । उनले सरकारको सहयोग अनुसार स्वास्थ्य सेवा प्रवाहमा सुधार भएपनि अहिलेसम्म पहिचान भएका कमिकमजोरीको सुधार भने लक्ष्य अनुसार हुन नसकेको भन्दै असन्तुष्टि जनाए ।
दक्ष जनशक्ति विना स्वास्थ्य क्षेत्रको सुधार नहुने राज्यको मान्यता अनुसार नै छात्रबृत्ति दिएर पढाउने गरेको तर, पढिसकेपछि अनेक बहाना बनाएर तोकेको ठाउँमा नजाने समस्या विद्यमान रहेको बताए ।
मन्त्री राईले स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी, चिकित्सक र प्रशासनिक निकायका व्यक्तिहरूको कार्यसम्पादन भने राम्रो हुने तर स्वास्थ्य सेवा प्रवाहको अवस्थामा सुधार नहुने कुराका बिच तालमेल नमिलेको बताए ।
जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईले स्वास्थ्य क्षेत्रमा प्राप्त भएका महत्वपूर्ण उपलब्धिहरूलाई अनुशरण गर्दै ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा प्रवाहमा सम्बन्धित निकायको ध्यान जानुपर्ने बताए । स्वास्थ्यलाई शिक्षा र सचेतनासँग जोडेर काम गर्न उनले आग्रह गरे ।
कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. यदुचन्द्र घिमिरेले उपचार सेवाका साथै जनस्वास्थ्यका गतिविधिलाई पनि अघि बढाउन मन्त्रालयले ध्यान दिइरहेको बताए । स्वास्थ्य सेवालाई गुणस्तरीय स्वास्थ्य सेवाका रुपमा रुपान्तरण गर्न सवै निकायको जिम्मेवारी भएको बताए ।
समिक्षा कार्यक्रमका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य समन्वय महाशाखाका डा.चुमनलाल दासले सरकारले स्वास्थ्य क्षेत्रको भौतिक पूर्वाधार र संरचना निर्माणमा हरेक बर्ष उल्लेखनीय रुपमा काम गर्दै आएको बताए ।
स्वास्थ्य निर्देशनालय धनकुटाका प्रमुख ज्ञान बहादुर बस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रममा कोशी प्रदेशका १४ वटै जिल्लाका स्वास्थ्य कार्यालय र अस्पताल प्रमुखहरूले बार्षिक प्रगति प्रस्तुत गरेका छन् ।
उनीहरूले २०८१–०८२ मा संचालित कार्यक्रमहरूको प्रगति, स्वास्थ्य सूचकहरुको जिल्लागत अवस्थाबारे छलफल गरी आगामी बर्षका लागि गरिने कामको प्राथमिकता समेत निर्धारण गर्ने जनाइएको छ ।
View : 157
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved