विराटनगर । उद्योग संगठन मोरङ र नेपालका लागि बंगलादेशका राजदूत सलाहउद्दिन नोमन चौधरीबीच दुई पक्षीय व्यापार विस्तारबारे छलफल भएको छ ।
बंगलादेश र नेपाल बीच हुनसक्ने व्यवसायिक तथा व्यापारिक सम्बन्ध, उद्योग व्यवसायको प्रवर्द्धन र विकासका साथै पर्यटन लगायतका क्षेत्रमा सहकार्य तथा साझेदारीको सम्भावनाका विषयमा राजदुत चौधरीसँग छलफल भएको उद्योग संगठन मोरङले जनाएको छ ।
छलफलमा संगठनका अध्यक्ष राकेश सुरानाले नेपाल र बंगलादेश बीचको व्यापारिक सम्वन्ध अभिवृद्धिका लागि नेपाली उत्पादनले बंगलादेश निर्यातमा भोग्दै आएको समस्या अवगत गराउदै समाधानका लागि सहजीकरण गर्न राजदुत समक्ष आग्रह गरेका थिए ।
उनले बंगलादेशस्थित व्यावसायिक संस्था तथा औद्योगिक पक्षहरुसँग संस्थागत सम्वन्ध विस्तारमा जोड दिदै संगठनले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय ब्यापार प्रवर्द्धन र्यालीका साथै नेपाल र बंगलादेशका उद्योगीहरु बीच सम्बन्ध विस्तारका लागि आवश्यक सहजीकरण गर्नसमेत अनुरोध गरेका छन् ।
सो अवसरमा बंगलादेशका राजदूत सलाहउद्दीन नोमन चौधरीले नेपाल र बंगलादेशका बीच धेरै क्षेत्रहरुमा सहकार्यको प्रचुर सम्भावना रहेकोले दुई मुलुकका औद्योगिक तथा व्यवसायीहरु बीचको सम्वन्ध विस्तारका लागि दुताबास निरन्तर सहजिकरण गर्न तत्पर रहेको बताए ।
राजदुत चौधरीले दुई पक्षीय व्यापारिक हितका लागि संगठनले अन्तर्राष्ट्रियस्तरको र्याली आयोजना गर्न लागेकोमा खुशी व्यक्त गर्दै बंगलादेश दुतावासको तर्फबाट आवश्यक सबै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
View : 136
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved