Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

जेनजी आन्दोलन : कोशी प्रदेशमा कहाँ कति भयो क्षति ?

उद्‌घोष संवाददाता
३१ भदौ २०८२, मङ्गलवार

विराटनगर । भदौ २३ मा सुरु भएको जेनजी आन्दोलनमाथि काठमाडौंमा भएको सरकारी दमनले जब उत्कर्ष नाघ्यो, आन्दोलन उत्तिकै हिंसात्मक बन्यो । 

विभिन्न स्वार्थ समूहहरु सडकमा उत्रे अनि अराजकता मच्चाए । जसका कारण देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारदेखि गाउँका सिंहदरबार मानिने स्थानीय तहका कार्यालयहरुसम्म ध्वस्त भए । 

कोशी प्रदेशको राजधानी विराटनगर, झापा, सुनसरी, उदयपुर र इलाममा धेरै क्षति भएको छ । 

क्षतिको आकार यति ठूलो छ कि घटनाको साता बित्न लाग्दासम्म पनि सरकारी निकायहरु विवरण संकलनमै व्यस्त छन् । झापामा मात्रै १०६ वटा भवनहरु आगजनीबाट ध्वस्त भएका छन् । 

झापामा स्थानीय तहको १२ वटा कार्यपालिका भवनमा आगजनी भएको र ५५ वटा वडा कार्यालयमा आगजनी भएको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले जानकारी दिए । 

त्यस्तै संघीय कार्यालयहरु १० वटा, ३ वटा प्रादेशिक कार्यालय, ३ वटा पार्टी कार्यालय र २२ वटा प्रहरीका भवनमा आगजनी तथा तोडफोड भएका छन । दमक र बिर्तामोडमा रहेका भाटभटेनीका दुईटा भवन पनि आगजनीको चपेटामा परेका छन् । 

झापामा आन्दोलनका क्रममा ज्यान गुमाउनेहरु पनि छन् । बिर्तामोडमा भदौ २४ मा एक जनाको ज्यान गएको थियो भने बीएण्डसी अस्पतालमा उपचारका क्रममा ३ जनाको मृत्यु भएको थियो । 

प्रजिअ अधिकारीले अस्पतालमा मृत्यु भएकाहरु कुन जिल्लाका हुन् भन्ने खुलेको छैन । 

यसबाहेक सवारीसाधन, जनप्रतिनिधि र राजनीतिज्ञ, कर्मचारी धेरैको घरमा पनि झापामा आगजनी भएको छ । यसको विवरण आइनसकेको अधिकारीले बता । 

आन्दोलनको पहिलो दिन भदौ २३ मै दुई जनाले ज्यान गुमाएको सुनसरीमा धरानको भाटभटेनीमा अहिलेसम्म ४ जनाको शव फेला परिसकेको छ । 

इटहरीसहित स्थानीय तहका भवनहरु जलेका छन् । प्रशासनले सोमबार क्षति मूल्याङ्कन समिति गठन गरेको छ । 

‘सहायक प्रजिअको नेतृत्वमा समिति गठन भएको छ, अब क्षतिको विवरण विस्तारै खुल्छ,’ प्रजिअ धर्मेन्द्रकुमार मिश्रले भन । उनको यही भनाइले पनि सुनसरीमा भएको क्षतिको विवरण धेरै भएको देखाउँछ । 

प्रदेशको राजधानी रहेको मोरङमा पनि क्षतिको आकार ज्यादै ठूलो छ । कोशी प्रदेशसभा, विराटनगर महानगर, मुख्यमन्त्री कार्यालय, जिल्ला प्रशासन, अदालतसहितका सरकारी कार्यालय, भाटभटेनीसहितका भवनहरु जलेर ठूलो क्षति भएको छ ।

भाटभटेनीमा सोमबार एक जनाको शवसमेत फेला परेको छ । प्रजिअ इन्द्रदेव यादव क्षतिको यकिन विवरण आइनसकेको बताउँछन् । 

सवारीसाधन कति जले भन्ने विवरण पनि संकलन भइरहेको उनको भनाइ छ । 

‘क्षतिको विवरण आउन अझै एक दुई दिन लाग्छ,’ उनले भने ‘मोरङमा क्षतिको आकार ठूलो देखिन्छ ।’  

कोशी प्रदेश सरकारले पनि क्षतिको विवरण संकलन गरिरहेको बताएको छ । आन्तरिक मामिला मन्त्रालयका सचिव रामप्रसाद आचार्य प्रदेशभरीमा ३ सयभन्दा बढी सवारीसाधनमा क्षति पुगेको अनुमान लगाउँछन् । 
‘सबैतिरबाट क्षतिको विवरण संकलन हुने क्रम जारी छ,’ उनले भने । 

हिमाली जिल्ला सोलुखुम्बुमा पनि भदौ २४ मा ठाउँ–ठाउँमा विरोध प्रदर्शन भयो । यद्यपि सोलुखुम्बुमा निजी त छाडौं, सरकारी सम्पत्तिमा समेत कहिँकतै कुनै आक्रमण भएन । 

सोलुखुम्बुमा कारागारबाट ८७ जना कैदीबन्दीहरु भने जेल तोडेर भागेका थिए । तीमध्ये ७५ जना फर्केर आइसकेको र बाँकी १२ जनाको खोजी भइरहेको प्रशासनको भनाइ छ । 

‘सगरमाथाको जिल्ला एकदमै शान्त र शालिन रुपमा प्रस्तुत भयो,’ प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेले भनिन् ‘यहाँ पनि जेनजीको प्रदर्शन भयो । ठाउँ–ठाउँमा जुलुस निस्किए । तर, कहिँकतै पनि आक्रमण गर्ने, तोडफोड गर्ने काम भएन ।’ 

खोटाङमा पनि सरकारी तथा निजी सम्पत्तिमा कहींकतै क्षति नभएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन् । 

‘प्रदर्शन यहाँ पनि भए , निषेधाज्ञा र कफ्र्यु पनि लगाइयो,’ श्रेष्ठले भनिन् ‘तर, सबै आन्दोलनकारी शान्तिपूर्ण प्रदर्शनमा मात्रै केन्द्रित हुनुभयो । सबैको धैर्य र संयमले अन्यत्र जस्तो भौतिक क्षति भएन ।’ 

ओखलढुंगा, धनकुटा, भोजपुर, पाँचथर, संखुवासभा, तेह्रथुम लगायतका जिल्लामा सरकारी सम्पत्तिहरुमा कहिंकतै क्षति नभएको ती जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले जानकारी दिएका छन् ।

तेह्रथुमको आठराईमा रहेको एमाले अध्यक्ष केपी शर्मा ओलीको पुख्र्यौली घरमा आगजनी हुनु जिल्लामा भएको एक मात्र आगजनीको घटना हो । 

‘खरको छाना भएको पूर्व प्रधानमन्त्रीको पूख्र्यौली घरमा भएको आगजनी बाहेक अन्यत्र तोडफोड र आगजनी भएन,’ प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले भने ‘जिल्लामा भएका प्रदर्शनहरु शान्तिपूर्ण भए ।’

त्यस्तै संखुवासभाको धर्मदेवी नगरपालिकामा रहेको तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको घरमा पनि तोडफोड प्रयास भयो । सोही पालिकामा रहेको माओवादी युद्धका सहिदको शालिक तोडफोड प्रयास पनि भयो । 

‘तर, शालिक पनि बलियो रहेछ, तोडफोड भएन,’ प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले भनिन् ‘यी दुईबाहेक जिल्लाभरी कतै पनि तोडफोड र आगजनीका घटना भएनन् । प्रदर्शनहरु शान्तिपूर्ण रहे ।’ 

तोडफोड र आगजनी धेरै भएको पहाडी जिल्ला इलाम एक हो । इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले दिएको जानकारी अनुसार भदौ २४ मा इलाममा सरकारी कार्यालय तथा सवारीसाधनमा तोडफोड र आगजनीका घटना भएका छन् । 

तोडफोडबाट जिल्ला प्रशासन कार्यालयमा आंशिक क्षति भएको छ भने चोकबजारको प्रहरी पोस्टमा तोडफोड र कागजपत्रमा आगजनी भएको छ । बिब्ल्याँटे बजारको प्रहरी पोस्टमा पनि तोडफोड र आगजनी भएको छ ।

इलाम नगरपालिका कार्यालयमा आगजनी र तोडफोड हुँदा पाँच करोड रुपैयाँको क्षति अनुमान छ ।

कार्यालयका सवारी साधन भवन, झ्याल, ढोका, फर्निचर, कागजात, ल्यापटप, दराजलगायत क्षति भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका ल्यापटप, एउटा गाडी, दुई मोटरसाइकल, भवनका झ्याल–ढोका, मतपेटिका, फर्निचर, फोटोकपी, कम्प्युटरलगायतमा तोडफोड भएको छ ।

प्रशासन कार्यालयका अनुसार करदाता सेवा कार्यालयमा समेत क्षति भएको छ भने कार्यालयका सबैजसो कागजात बाहिर निकालेर डढाइएको छ । कार्यालयको एउटा गाडी तोडफोड भएको छ ।

माई नगरपालिकाका चार मोटरसाइकल र एउटा गाडी तोडफोड भएको छ । कार्यालयका कागजात र सामग्री बाहिर निकालेर जलाइएको छ । माईकै वडा १, २, ३, ४, ७, ८, ९ र १० नम्बर वडा कार्यालयका कागजात र सामाग्री बाहिर निकालेर जलाइएको छ । 

माईकै सुखानी अध्ययन केन्द्रमा तोडफोड र आगजनी भएको छ । माई ४ को दानाबारी सामुदायिक सिकाइ केन्द्रमा आगजनी हुँदा करिब १३ लाख रुपैयाँबराबरको सामग्री जलेर नष्ट भएको केन्द्रको अनुमान छ । 

बजारमा रहेका एमाले, कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, एकीकृत समाजवादीलगायत पार्टी कार्यालयमा तोडफोड भएको इलाममा रोङ गाउँपालिका २ को वडा कार्यालयमा तोडफोड र कागजपत्रमा आगजनी भएको छ ।

ताप्लेजुङको फुङलिङ नगर कार्यालयमा तोडफोड र आगजनी हुँदा कांग्रेस, एमाले, माओवादी र रास्वपा पार्टी कार्यालयमा पनि तोडफोड भएको छ । 

२४ गते राति पाथिभरा मन्दिर नजिकैका तीन वटा मध्ये एउटा भवनमा आगजनी र दुईटा भवनमा तोडफोड भएको प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंले जानकारी दिए । 

भित्री मधेशको जिल्ला उदयपुरमा त्रियुगाका पूर्व मेयर बलदेव चौधरी, अहिलेकी उपमेयर महेश्वरी राईको घरमा आगजनी भएको छ । 

कोशीकी उपसभामुख सिर्जना दनुवार र त्रियुगाका मेयर बसन्त बस्नेतको घरमा तोडफोड पनि भएको छ । यसबाहेक जिल्ला प्रशासनमा ढुंगामुढा गर्नेबाहेक अरु क्षति नभएको प्रजिअ प्रेमप्रसाद लुइँटेलले जानकारी दिए ।

View : 610

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved