Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

ब्राइट भिजनमा पहिलो अभ्यास अदालत, अविसाको बहस उत्कृष्ट

उद्‌घोष संवाददाता
१४ साउन २०८२, बुधवार

विराटनगर । विराटनगर–५ स्थित ब्राइट भिजन कानुन  कलेजका विद्यार्थीहरूले पहिलो पटक कलेजमै अभ्यास अदालत सञ्चालन गरेका छन् । 

अभ्यास अदालतमा ७२ जना विद्यार्थीको १८ वटा समूहबीच प्रतिष्पर्धा भएर अन्तिम दुईवटाले इजलासको अभ्यास गरेका हुन् ।

उक्त अभ्यास अदालतमा मनिष सिग्देल, लोकेश धाडेवा, प्रतीक गौतम र आकृति खनालको टोली प्रथम घोषित हुँदै १० हजार रूपैयाँ पुरस्कार जितेको छ । 

त्यस्तै कृतिका ढकाल, रञ्जना घिमिरे, अनुशा आचार्य र अमृता कटुवालको टोली पहिलो उपविजेता घोषित भएको छ । 

दोस्रो उपविजेतामा प्रसिद्ध ढकाल, अविशा निरौला, आयुशा राई र प्रविन सापकोटा घोषित भएका हुन् । 

त्यस्तै सुरूवाती ७२ जना प्रतिष्पर्धी मध्ये अविसा निरौला उत्कृष्ट वक्ता घोषित भइन् । उत्कृष्ट बहस नोट तयार पारेको भन्दै लोकेश धाडेवा उत्कृष्ट स्मृतिवाला वक्ता घोषित भए ।

उनीहरूलाई उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईले पुरस्कार रकमसहित ट्रफी र प्रमाणपत्र प्रदान गरे । 

मुख्यन्यायाधीस भट्टराईले साँच्चैको अदालतमा जस्तो गरी विद्यार्थीहरूले आत्मविश्वासपूर्ण बहस गरेको बताए । 

‘आज साँच्चैको इजलासको बहसजस्तो महसुस भयो, सवैले राम्रो प्रस्तुति गर्नुभयो’ उनले भने, ‘किताबी ज्ञानले मात्रै पुग्दैन, अदालतमा कानुन व्यवसायीले आफ्नो दक्षता देखाउन बहसकै क्षमता देखाउन जरूरी हुन्छ, त्यो कुरा यहाँ पूरा भएको छ ।’ 

अन्तिम प्रतिष्पर्धामा पुगेका दुईवटा समूहबीचको बहसको मूल्याकंन गर्न उच्च अदालत विराटनगरका न्यायाधीशहरू केशवप्रसाद बास्तोला र कृपासुर कार्की तथा वरिष्ठ अधिवक्ता शन्तिराम भण्डारीले विद्यार्थीको अभ्यास अदालतमा न्यायाधीशको भूमिका निर्वाह गरेका थिए । 

कलेजका प्राचार्य बरिष्ठ अधिवक्ता चुडामणि आचार्यले कलेजले कानुनी शिक्षामा धेरै क्षमतावान विद्यार्थीहरूको उत्पादन गर्दै आएको बताए ।

उनले कानुन अध्ययनपश्चात प्रतिष्पर्धी, सीप र क्षमतायुक्त शैक्षिक जनशक्ति तयार हुने दाबी गरे ।

‘यस्तो अभ्यासले सवैभन्दा राम्रो पक्ष भनेको उभिएर अदालतमा बहस गरेजस्तै बहस गर्नसक्ने क्षमताको विकास गर्दछ’ उनले भने, ‘हामीले पहिलो पटक आयोजना गरेको मुट कोर्ट प्रतिष्पर्धात्मक बनेको छ, कानुनी शिक्षामा ठूल्ठूला कितावको अध्ययनसँगै त्यसको व्यवहारिक अभ्यासबारे विद्यार्थीहरूले लामो प्रतिस्पर्धा पार गरेर दक्षता बृद्धि गरेका छन् ।’

यस्तो अभ्यासले विद्यार्थीहरूमा अदालतको वातावरण बुझ्ने र बहसका लागि पूर्व तयारी तथा आत्मविश्वास बढाउन ठूलो सहयोग पुगेको बताए ।

कार्यक्रममा कोशी प्रदेश सरकारका मुख्यन्यायाधिवक्ता नारायण वस्तीसहित अन्य बरिष्ठ अधिवक्ता, अधिवक्ताहरू समेतको उपस्थिति थियो । 

ब्राइट भिजन कानुन कलेजका अहिले साढे सात सय विद्यार्थीले कानुन संकायमा स्नातक र स्नातकोत्तर अध्ययन गर्दै आएका छन् ।

कलेजले हालसम्म १४ औं ब्याचलाई उत्तीर्ण गराइसकेको जनाएको छ ।

 

View : 1079

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved