Biratnagar, Morang, Nepal
२० असार २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

मनसुन सक्रिय, आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

उद्‌घोष संवाददाता
२० असार २०८३, शनिवार

Advertisement

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षासमेत हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने मधेश प्रदेशमा आंशिक बदली रहेको छ ।

आज दिनभर हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थान तथा कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका केही स्थान तथा मधेशसँगै कोशी, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

महाशाखाका अनुसार आज राति वर्षाको गतिविधि अझ बढ्ने सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। त्यसैगरी कोशी, मधेश र बागमती प्रदेशका पहाडी क्षेत्रका केही तथा तराईका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी–नाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र तथा डुबान हुन सक्ने स्थानमा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

View : 26

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved