सुन्दरहरैंचामा आइतबार खोला अनुगमन गरिंदै । तस्वीरः उद्घोष
विराटनगर । असारदेखि भदौसम्म खोलाजन्य पदार्थ निकाल्न नपाइने कानुन भएपनि यो साउन महिनामा मोरङका खोलाहरूमा चोरी जारी छ । खोलाबाट गिट्टी बालुवा निकाल्नेलाई स्थानीय सरकारले कडा कारवाही थालेको छ ।
स्थानीयतहहरूले खोला दोहनमा प्रयोग गरिएका उपकरणलाई दुई लाख रूपैयाँसम्म जरिवाना गर्न थालिएको भएपनि चोरी जारी रहेको सुन्दरहरैंचा नगरपालिकाका मेयर केदारप्रसाद गुरागाईले बताए ।
वर्षायाममा खोलाबाट गिट्टी बालुवा निकालिँदा बाढीमा कटानको समस्या हुने भएकाले कानुनले नै बर्जित गरेको छ । यो समयमा पनि चोरी जारी रहेकाले सुन्दरहरैंचाले जिल्लाको टोली गुहारेको छ ।
मेयर गुरागाईको आग्रहमा जिल्ला समन्वय समितिका प्रमुख अजम्बर राई, प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, प्रहरी उपरीक्षक नवराज कार्की, सशस्त्र प्रहरी उपरीक्षक विश्व खड्का, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख तिलक शर्मालगायतको टोलीले आइतबार तीनवटा खोला अनुगमन गरेको छ ।
‘खोला चोर सक्रिय रहेकाले जिल्लाबाट अनुगमन समिति बोलाएको हुंँ’ गुरागाईले भने ।
टोलीले सुन्दरहरैंचामा पर्ने बूढी, लोहान्द्रा र गछिया खोलाको अनुगमन गर्दा विभिन्न ठाउँमा चोरीमा संलग्न ब्यक्तिहरूले जम्मा गरेर राखेको बालुवा फेला परेको छ ।
अनुगमन समिति आउने सार्वजनिक भएकाले बालुवा चोरीमा संलग्न मानिस र उपकरण भने फेला नपरेको उनले बताए । खोलामा प्रयोग भएको पाइए जेसीबीलाई दुई लाख, ट्रिपरलाई एक लाख र ट्याक्टरलाई २५ हजार रूपैयाँ जरिवाना गर्ने प्रदेशको कानुन छ ।
सुन्दरहरैंचा नगरपालिकाले यसअघि खोला दोहनमा प्रयोग भएका दुई ट्रिपर र एक ट्याक्टर नियन्त्रणमा राखेको छ । जरिवाना तिर्न सम्बन्धित साधनका धनी भने नगरपालिका गएका छैनन् ।
बरू कारवाहीको जरिवाना कम गराउन उनीहरूले दवाब दिदै आएका छन् । मोरङका विभिन्न पालिकाहरूबाट खोला दोहनको सूचना आउने गरेकाले आइतबारबाट अनुगमन सुरू गरिएको समन्वय समिति प्रमुख राईले बताए ।
‘खोलामा मेसिन पनि प्रयोग गरेर दोहन हुने गरेको सूचना आउँछ, अनुगमन नियमित गर्छौ, यो काममा संगठित गिरोहको संलग्नता पनि हुन सक्छं’ राईले भने । उता केराबारी गाउँपालिकाले पनि खोला दोहनमा प्रयोग भएका दुईवटा हाईवा (ठूलो ट्रिपर) नियन्त्रणमा लिएको छ । पालिकाका अधिकृत बाबुराम केसीले कारवाही गरेर छाडिने जानकारी दिए ।
यस खाले खोला दोहनमा आवश्यक परेर घरका लागि प्रयोग गर्ने भन्दा पनि पेशेवरहरूको संलग्नता रहने गरेको छ । कतिपय ठाउँमा जनप्रतिनिधिहरूकै मिलेमतो हुने गरेको आरोप लाग्दै आएको छ ।
‘दिनभरी बालुवा जम्मा गरेर चाल्छन्, राति लोड गरेर लैजान्छन्’ एक सुरक्षा अधिकारीले भने–‘खोलाका किनारमा ठाउँठाउँमा बालुवा चालेर राखिएको छ ।’
View : 143
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved