Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

छाला उद्योगको दुर्गन्ध विरूद्ध पीडितहरू आन्दोलित

उद्घोष सम्वाददाता
२५ भदौ २०८१, मङ्गलवार

दुहवी । सुनसरी मोरङ औद्योगिक कोरिडरअन्तर्गत दुहबी– ६ मा सञ्चालित युनाइटेड टैनरिज छाला उद्योगले प्रदुषण गरेको भन्दै स्थानीयले आन्दोलन चर्काउने चेतावनी दिएका छन । उद्योगको प्रदुषणले विस्थापित हुनुपर्ने अवस्था आएको भन्दै आन्दोलित स्थानीयहरूले सोमबार बिहान पत्रकार सम्मेलन गरी २४ घण्टाभित्र उद्योग बन्द गरी प्रदुषण हटाउन माग गरेका छन् । 

उद्योगको प्रदुषण बिरूद्ध एक महिनायता आन्दोलित स्थानीयले सबै निकायमा हारगुहार माग्दा पनि समस्या समाधान नभएको भन्दै मंगलबारबाट उद्योग घेराउ गर्नुका साथै तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।

संघर्ष समिति नै गठन गरी आन्दोलित बनेका स्थानीयले यसअघि स्थानीय र प्रदेश सरकारसँगै जिल्ला प्रशासन कार्यलयमा ज्ञापनपत्र बुझाएका थिए ।

प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय र दुहबी नगरपालिकाको अनुगमन टोलीले उद्योग मापदण्ड बिपरीत सञ्चालनमा रहेकाले तत्कालका लागि बन्द गर्न निर्देशन दिएको थियो ।

अनुगमनका क्रममा कोशी प्रदेश वातावरण संरक्षण ऐन– २०७६ तथा कोशी प्रदेश वातावरण संरक्षण नियमावली २०७७ बमोजिम वातावरणीय अध्यन स्वीकृत नगराई उद्योग सञ्चालन गरेको पाइएकाले उद्योग सञ्चालनमा रोक लगाएको थियो ।    

सरकारी टोलीको उक्त निर्देशन उद्योगका सञ्चालकले मानिरहेका छैनन् र उद्योग निरन्तर चलिरहेको छ । उद्योग अहिलेसम्म पनि अटेर गरी सञ्चालन भैरहेको र दुर्गन्ध फैलाउन नछाडेकाले २४ घण्टाभित्र उद्योग बन्द गर्न अल्टिमेटम दिएको संघर्ष समितिका उपाध्यक्ष मोहम्मद सहिन सलमानले बताए ।

भैंसी, राँगालगायतका जनावरको छाला प्रशोधन गर्ने उक्त उद्योगले मापदण्डअनुसार प्लान्ट सञ्चालन नगर्दा बारम्बार समस्या आउने गरेको स्थानीयको गुनासो छ ।

उद्योगले फोहोरको ढल सिधै स्थानीय बुढी खोलामा मिसाउने गरेको छ । आन्दोलनमा उत्रिएका स्थानीयले बस्तीबाट उद्योगलाई अन्यत्र सार्न माग गरेका छन् । 

छाला प्रशोधन उद्योगका कारण गाउँभरि दुर्गन्ध फैलिएको संघर्ष समितिका अध्यक्ष सुरजकुमार पासवानले बताए । उद्योगको दुर्गन्धका कारण गाउँमा पाहुना आउन छाडेको र गाउँमा कसैले पनि बिहावारी गरेर छोरी नदिने गरेको पासवानले बताए ।

२०४६ सालमा स्थापना भएको उद्योगले छालाको तयारी र कच्चा सामग्री उत्पादन गर्छ । उद्योगमा ३५ जना कामदार कार्यरत छन् ।

View : 88

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved