विराटनगर, ३ पुस । सशस्त्र प्रहरीले विराटनगर महानगरपालिका वडा नं. ७ स्थित जिल्ला प्रशासन रोडबाट स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नं. १५ रानी बस्ने ४० वर्षीय लक्ष्मणप्रसाद साह छन् ।
सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म रानीबाट खटिएको गस्ती टोलीले शंका लागेर चेकजाच गर्दा उनको साथबाट स्रोत नखुलेको नेपाली मुद्रा १६ लाख १० हजार बरामद गरेको छ ।
साहले चढेको को १९ प ४४३४ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा स्रोत नखुलेको मुद्रा भेटिएपछि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
बरामद भएको मुद्रामा एक हजार दरको ८८५ थान, पाँच सय दरको १६९ थान, एक सय दरको ९ सय थान, ५० दरको ५ थान, २० दरको १२ थान र १० दरको नोट १ थान रहेको छ ।
बरामद मुद्रा तथा मोटरसाइकल सहित साहलाई आवश्यक छानविन तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनी मुख्यालय सुनसरीका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रविनराज कर्णजितले जनाएका छन् ।
View : 310
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved