निर्वाचन कमिटीले टाँस गरेको नामवली हेर्दै प्रतिनिधिहरू
विराटनगर । नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशनको निर्वाचन कार्यक्रम सोमबार झण्डै चार घण्टा ढिलो सुरु भएको छ । निर्वाचन कमिटीले ११ः४५ बजे मतदाता नामवली टाँस गरेको छ । यसअघि बिहान ८ बजे नै निर्वाचन कार्यक्रम सुरु गर्ने भनिएकोमा झण्डै चार घण्टा ढिलो भएको हो ।
निर्वाचन कमिटीले टाँस गरेको सूचनाअनुसार, १० औं जिल्ला अधिवेशनमा भूगोलतर्फ ७४५, जनसंगठनतर्फ १२० र मनोनित ४६ गरी जम्मा ९११ प्रतिनिधि कायम भएका छन् ।
निर्वाचन सम्पन्न गर्न एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य समीर नेपालको नेतृत्वमा बरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय निर्वाचन कमिटी बनाइएको छ । सोही कमिटीले १० औं जिल्ला अधिवेशनबाट चुनिने १६५ सदस्यीय कमिटी निर्वाचित भएको घोषणा गर्नेछ ।
निर्वाचन कमिटीले उम्मेदवारी दिएर नाम फिर्ता लिन चाहनेहरूलाई मनोनयन शुल्क फिर्ता दिने जनाएको छ । पदाधिकारीमा उम्मेदवारी दिनेले आफ्नो उम्मेदवारी प्रमाणित गराउनुपर्ने व्यवस्था गरेको छ । नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशनको निर्वाचन कार्यक्रम विराटनगरको होटल मनास्लुमा भइरहेको छ ।
एमाले मोरङको १० औं अधिवेशन शनिबारबाट सुरु भएको हो । अधिवेशनको आइतबार सम्पन्न बन्दसत्रले राजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदन पारित गरिसकेको छ । अब अधिवेशनको नेतृत्व चयन गर्नेमात्र काम बाँकी छ ।
View : 163
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved