विराटनगर । पायोनियर मोटो कर्पले आइकार–भी २३ गाडीको बिहीबार औपचारिक सार्वजनिक गरेको छ ।
विराटनगरस्थित ओमोडा एण्ड जेइको शोरुममा आयोजित समारोहमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले उक्त गाडीको अनावरण गरेका हुन् ।
आइकार–भी २३ रेट्रो शैलीबाट प्रेरित पूर्ण विद्युतीय अफरोड एसयूभी गाडी भएको कम्पनीले जनाएको छ ।
ग्राउण्ड क्लियरेन्स २१० मिलिमिटर भएकाले यो गाडी नेपालको भूगोल सुहाउँदो भएको पायोनियर मोटो कर्प प्रालिका प्रबन्धक अमित अग्रवालले बताए ।
उनका अनुसार यो गाडीले एकपटक फुल चार्ज गर्दा ४०१ किलोमिटरसम्म यात्रा गर्ने क्षमता राख्छ । यसमा ५९ दशमलव ९३ किलोवाटको ब्याट्री प्याकसहित १०० किलोवाट क्षमताको मोटर जडान गरिएको छ ।
विद्युतीय सवारीसाधनप्रति बढ्दो उपभोक्ता चासोलाई प्रतिबिम्बित गर्दै भी२३ विभिन्न ६ वटा रंगहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
ओमोडा एन्ड जेइको र आइकार दुवै ब्राण्डका गाडीहरूको निर्माता चिनिया अटोमोबाइल चेरी ग्रुप हो । यो ग्रुप चीनको सबैभन्दा ठूलो अटोमोबाइल निर्यातकर्ताको स्थान कायम राख्दै आएको ठूलो कम्पनी भएको अग्रवालले बताए ।
उनका अनुसार बिहीबार सार्वजनिक गरिएको आइकार–भी२३ मा १३ दशमलव २ इन्चको प्रिमियम स्क्रिन, लेभल–२ उन्नत चालक सहायता प्रणाली तथा पछाडिको सिट फोल्ड गर्दा ७४४ लिटरको सामान राख्ने फराकिलो बुट स्थान उपलब्ध छ ।
यो एसयूभीको ७० प्रतिशत भन्दा बढी भाग, हाइ स्ट्रेन्थ–स्टिलको प्रयोग गरी हाइ रिजिडिटी बडीमा निर्माण गरिएकाले बलियो भएको कम्पनीले दावी गरेको छ ।
नयाँ पुस्ताको विद्युतीय सवारी साधन आइकार–भी२३ को विश्वव्यापी सार्वजनिकीकरण भने २०२५ अगस्तमा गरिएको थियो ।
ग्राउन्ड क्लियरेन्स र आकर्षक बक्सी डिजाइनका कारण सहर र अफरोड दुवैका लागि उपयुक्त यो गाडीको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ छ ।
डलरमा भएको मूल्यवृद्धिका कारण यो गाडीको मूल्य पछि बढ्न सक्ने बताइएको छ । पूर्व–बुकिङ गरेका ग्राहकहरूका लागि भने यही मूल्यमा उपलब्ध हुने आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले जनाएको छ ।
यसैबीच, गाडी अनावरण समारोहमा शारडा समूहका निर्देशक प्रदीप सारडा, एसपीजी अटोमोबाइल्सका सहायक महाप्रबन्धक आशीष दाहाल, ग्राहकहरू, सञ्चारकर्मीहरू तथा अटोमोबाइल क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो ।
View : 46
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved