Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

अझै अलमलमै छन् कुलमानको पछि लागेका  पहिचानवादी नेता

घिसिङले ‘पहिचानको पक्षमा दृढतापूर्वक उभिने’ वचन दिएपछि उनी आवद्ध उज्यालो नेपाल पार्टीमा सहभागी भएका पहिचानवादी नेताहरु यतिबेला अनिर्णयमा अल्झिरहेका छन् । घिसिङले उज्यालो नेपाल पार्टीलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा मिसाउने निर्णय गरेर आफू रास्वपाको उपसभापति भइसकेका छन् ।
उद्‌घोष संवाददाता
१८ पुष २०८२, शुक्रवार

विराटनगर । ऊर्जामन्त्री कुलमान घिसिङका पछि लागेका कोशी प्रदेशका पहिचानवादी नेताहरु अब रास्वपामै जाने कि अलग्गै अघि बढ्ने भन्ने विषयमा कुनै निर्णयमा पुग्न सकेका छैनन् । 

कुलमानले आफूहरुसँग कुनै छलफल र सल्लाह नगरी उज्यालो पार्टी नेपाललाई रास्वपामा मिसाएको भन्दै पहिचानवादी नेताहरु उनीसँग चिढिएका छन् । 

घिसिङले ‘पहिचानको पक्षमा दृढतापूर्वक उभिने’ वचन दिएपछि उनी आवद्ध उज्यालो नेपाल पार्टीमा सहभागी भएका पहिचानवादी नेताहरु यतिबेला अनिर्णयमा अल्झिरहेका छन् । 

घिसिङले उज्यालो नेपाल पार्टीलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा मिसाउने निर्णय गरेर आफू रास्वपाको उपसभापति भइसकेका छन् । 

कुलमानको उक्त कदमसँग चिढिएका पहिचान पक्षधर नेताहरुले घिसिङको निर्णयप्रति प्रारम्भिक रुपमा असहमति जनाएका थिए । 

आफूहरुसँग कुनै सल्लाह नै नगरी पार्टी विलय गराएको भन्दै पहिचानवादी नेता डकेन्द्रसिंह थेगिमले सार्वजनिक रुपमै असन्तोष जनाएका थिए भने रास्वपाको समानुपातिक सूचीमा नाम समेटिएका प्रा.डा. महेन्द्र लावतीले पनि गम्भीर असहमति प्रकट गरेका थिए । 

कुलमान घिसिङ रास्वपाको उपसभापति बनेको चार दिनपछि नेताहरु डा.लावती र थेगिम दुवैलाई  तपाईंहरु कुलमानको निर्णयमा असहमत हुनुहुन्थ्यो । अब के गर्ने हुनुभयो ? रास्वपामै जाने कि अलग्गै अघि बढ्ने हुनुभयो ? भन्ने प्रश्न गर्दा जवाफमा लावती र थेगिम दुवैले अनिश्चय प्रकट गरेका छन् । 

‘म अहिले काठमाडौं बाहिर छु, काठमाडौं पुगेर छलफल गरेपछि मात्रै निर्णय हुन्छ,’ प्रा.डा. लावतीले भने ‘अहिले केही निर्णय गरेको छैन ।’ 

अमेरिकाको वेस्टर्न मिचिगन विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक डा. लावती नेपालमा संघीयता  र पहिचानको पक्षमा लगातार लेख्दै–बोल्दै आएका चर्चित ‘स्कलर’ हुन् । 

नेपालका आदिबासी, जनजाति, दलित तथा सीमान्त समुदायको पक्षमा निरन्तर आवाज उठाउँदै आएका लावती पञ्चायतकालका चर्चित नेता पद्मसुन्दर लावतीका छोरा हुन् । 

पञ्चायतदेखि बहुदलकालसम्मै नेपालको सत्ता राजनीतिको केन्द्रमै रहेका आफ्ना बाबुको राजावादी लाइनसँग भने छोरा महेन्द्रको विचार सधैं बाझिन्थ्यो । 

प्राध्यापनसँगै नेपालका सीमान्त समुदायको अधिकारका लागि आफूलाई सधैं उभ्याउँदै आएका उनी पनि उज्यालो पार्टीकै केन्द्रीय समितिमा रहेका थिए ।  

लावती, थेगिम, खगेन्द्र माखिम लगायतका पहिचान पक्षधरहरु उज्यालोले ‘पहिचानको मुद्दा बोक्ने र पार्टी विधानको प्रस्तावनामै त्यो उल्लेख भएको’ भन्दै उज्यालो नेपाल पार्टीमा आवद्ध भएका थिए । त्यसबेला  थेगिमले ‘उज्यालोले मुद्दा बोक्ने र पार्टीको प्रस्तावनामै पहिचानको पक्षमा उभिने’ भएपछि आफूहरु त्यता लागेको बताएका थिए । 

थेगिम तिनै नेता हुन्, जसले पछिल्लो समय कोशी प्रदेशमा चलिरहेको पहिचानवादी आन्दोलनको नेतृत्व गरिरहेका थिए । 

२०७९ फागुन १७ मा प्रदेशसभाको दुई तिहाई बहुमतले तत्कालीन प्रदेश १ को नाम ‘कोशी’ राखेपछि आन्दोलन सुरु भएको थियो । 

मान्छेले विकास गरेको सभ्यताको सम्मानमा भन्दा कांग्रेस एमालेले नदीनालाहरुको सम्मानमा बढ्ता ध्यान दिएको भन्दै पहिचानवादीहरुले सांस्कृतिक सभ्यताका आधारमा कोशीको पुनः नामाकरण गर्नुपर्ने बताइरहेका छन् । 

थेगिम आफैंले नेतृत्व गरेको आन्दोलनमा एक जना सहिद भएका छन् भने सयौं घाइते भएका थिए । 

सोही आन्दोलनको बलमा थेगिमले २०८१ बैशाखमा भएको उपनिर्वाचनमा इलाम–२ मा स्वतन्त्र रुपमा चुनाव लडेका थिए । 

एमाले पहिलो र कांग्रेस दोस्रो भएको उपनिर्वाचनमा थेगिमले मुडा चुनाव चिन्हबाट तेस्रो स्थान हासिल गर्दा रास्वपा चौथो मात्रै बनेको थियो । 

त्यसबेला थेगिमसहितका पहिचानवादी नेताहरु रवि लामिछाने नेतृत्वको रास्वपालाई विचारविहीन झुण्ड भएको बताउँथे । अझ संघीयता र पहिचानप्रति अनुदार विचार बोक्ने नेताहरुको बाहुल्य र निर्णायक भूमिका रहेको रास्वपामै आफ्ना नेता कुलमान उपसभापति बनेर गएपछि थेगिमसहितका नेताहरु बिलखबन्दमा परेका हुन् । 

कोशी प्रदेशको पहिचानवादी आन्दोलनको नेतृत्व गरिरहेका र इलामको उपनिर्वाचनमा सम्मानजनक मत प्राप्त गरेका थेगिमले यो एकताले पहिचानको एजेण्डालाई ओझेलमा पार्ने हो कि चिन्ता व्यक्त गरेका थिए । कुलमानले रास्वपासँग सहमति गरेलगत्तै थेगिमले भनेका थिए ।

‘हामी कुलमानजीसँग पहिचानको मुद्दा स्वीकार गर्ने सर्तमा साथमा थियौं । रास्वपासँग केवल चुनावी गठबन्धन र सहकार्य गर्ने सम्मको कुरा भएको थियो । तर, पार्टी नै विलय गर्ने कुनै पूर्वजानकारी थिएन । अब के गर्ने भन्ने विषयमा छलफल जारी छ ।’ 

उनले थपेका थिए ‘मेरो बुझाइमा हामीले चुनावी गठबन्धन र सहकार्य गर्ने सम्मको मात्र कुरा थियो । आफ्नो पहिचान र अस्तित्व समाप्त गरेर मिल्न सकिंदैन भनेर त कुलमानजी बोलिरहनुभएको थियो । तर, झट्टै एकताको कुरा आयो । उहाँ कसरी सबै विलय गरेर जानुभयो, त्यो विषयमा उहाँलाई नै सोध्नुपर्छ । हामीलाई यसबारे जानकारी छैन ।’ 

थेगिमले रास्वपासँगको एकतामा आफ्ना मुख्य एजेन्डाहरू कता परे भन्ने स्पष्ट नभएको प्रश्न पनि उठाएका थिए । 

संघीयता, लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिकका मुद्दामा रास्वपासँग के सहमति भयो भन्ने कतै उल्लेख नगरिएको उनको भनाइ थियो । 

उनले पहिचानवादी शक्तिहरूसँग चुनावी प्रक्रियामा मोर्चाबन्दी र गठबन्धन गरेर जान सकिने भए पनि विचारहीन एकताको अर्थ नहुने तर्क पनि गरेका थिए । 

‘अब के गर्ने छलफल गर्छौं’ भनेर उनले प्रतिक्रिया दिएको तीन दिनपछि अर्थात बिहीबार दिउँसो हामीले उनलाई फेरि सोध्यौं ‘तपाईंहरु केही निर्णयमा पुग्नुभयो ? रास्वपाबाटै कि अलग्गै अघि बढ्ने हुनुभयो ?’ थेगिमले पनि प्रा.डा. लावतीकै जस्तो उत्तर दिए । 

‘अहिलेसम्म केही छलफल भएकै छैन,’ उनले भने ‘के गर्ने भन्ने निर्णयमा पुगिएकै छैन ।’

View : 170

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved