Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

जेनजी आन्दोलनको मूल कारण कुशासन र बेरोजगारी

उद्‌घोष संवाददाता
१४ असोज २०८२, मङ्गलवार

विराटनगर । दीगो विकास तथा शान्ति यात्रा संस्थाको आयोजनामा विराटनगरमा ‘जेनजी आन्दोलन र भविष्यको दिशाबोध’ विषयक अन्तरक्रिया कार्यक्रममा  अनुसन्धानविद्ले, लेखक तथा विश्लेषक डा दीपक चौधरीले जेनजी आन्दोलन कुनै आकस्मिक घटना नभई कुशासन र बेरोजगारी जस्ता मूल समस्याहरूको परिणाम भएको विश्लेषण गरे ।

  उनले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध आन्दोलनको एउटा देखाउने कारण मात्र रहेको तर मुख्य जड भने राजनीतिक नेतृत्वको आर्थिक समस्या सम्बोधन गर्न नसक्ने अक्षमता, सत्तामोह र गु टबन्दी रहेको स्पष्ट पारे ।

डा चौधरीका अनुसार, नेतृत्वको व्यक्तिगत स्वार्थका कारण जनतामा छाएको निराशाले नै यो आन्दोलन जन्माएको हो। यद्यपि, आन्दोलनका क्रममा केही अराजक तत्त्वहरूले सार्वजनिक सम्पत्ति तोडफोड गरेको कार्य निन्दनीय रहे पनि जेनजी आन्दोलनले नयाँ राजनीतिक परिवेशको वातावरण भने तयार गरेको उनको ठहर छ। डा चौधरीले आन्दोलनबाट उत्पन्न नयाँ ऊर्जालाई सही दिशा दिनका लागि नीतिगत र संरचनात्मक सुधार गर्नुपर्ने केही महत्त्वपूर्ण बुँदाहरू प्रस्तुत गरे । 

उनले  राजनीतिक सुधार सबैभन्दा महत्वपूर्ण हो, प्रजातन्त्रको खम्बा रहेका दलहरू आफैँ प्रजातान्त्रिक हुनुपर्छ र नेतृत्व चयन निश्चित समय अवधिका लागि पारदर्शी रूपमा गरिनु पर्ने उनको जोड थियो ।  जेनजीको मुख्य माग पारदर्शिता, शिक्षा र सुशासनमा जोड रहेको उनले बताए । 

कार्यक्रमको प्रस्तुतीकरणमाथि वरिष्ठ डाक्टर एसएन झा,  महेन्द्र मोरङ क्याम्पसका पूर्व प्रमुखद्वय सरोज चौधरी र डा बाबुराम तिमल्सिना , युवा अभियन्ता विक्रम देव,  सञ्जय देवलगायतले  राजनीतिक सुधार र नेतृत्वमा सुधार हुनुपर्ने विषयमा आफ्नो धारणा राखेका थिए ।

View : 325

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved