विराटनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको पक्षमा उभिएका छन् ।
सिटौलालाई राष्ट्रिय सभा संसदीय दलको नेताबाट बर्खास्त गर्ने पार्टी निर्णयको विरोध गर्दै पराजुलीले यो निर्णयलाई अनुचित र गलत भनेका छन् ।
विराटनगर महानगरका पूर्वमेयर पराजुली कांग्रेस पूर्वकेन्द्रीय सदस्य हुन् । लामो समय कोइराला समूहमा रहेका उनी १४ औं महाधिवेशनको मुखैमा सिटौला समूहमा लागेका थिए ।
शेरबहादुर देउवा समूहभित्र रहेर पनि अलग उपसमूह चलाइरहेका सिटौलाले कोशी सरकारमा सँधै भाग लिइरहेका छन् ।
अघिल्लो पटक भूपेन्द्र राई सिटौला समूहबाट मन्त्री भएका थिए । यसपटक सिटौलाको कोटाबाट कोशीमा भीम पराजुली मन्त्री छन् ।
उनै सिटौलालाई विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको समितिले दल नेताबाट बर्खास्त गरेपछि पराजुलीले सिटौलाको पक्षमा अभिव्यक्ति दिएका हुन् ।
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व विरुद्ध निरन्तर समानान्तर गतिविधि गर्दै आएका सिटौलालाई संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बर्खास्त गरेर कमला पन्तलाई नियुक्त गरेका थिए ।
सामाजिक सञ्जाल फेसबुकमा पराजुलीले भनेका छन् ‘नेपाली कांग्रेसका सम्मानित नेता तथा राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाज्यूलाई हटाउने निर्णय अत्यन्त गलत, अनुचित र पार्टीको हितविपरीत छ भन्ने मलाई लागेको छ ।’
उनले अगाडि भनेका छन् ‘वर्तमान संविधान र उहाँ रहुन्जेल नयाँ हुन् वा पुराना सवैले सम्मान गर्नुपर्ने व्यक्ति हो । लामो राजनीतिक योगदान, राष्ट्रिय राजनीतिमा देखाएको कुशल नेतृत्व र पार्टीको मूल्य–मान्यतालाई जोगाउने अटल अडानलाई कदर गर्दै उहाँलाई हटाउने निर्णय फिर्ता लिनुपर्छ । पछिल्लो समय पुराना पुस्ताका नेतालाई वेवास्ता गर्ने प्रवृत्ति हावी हुनु कांग्रेसको नीति, सिद्धान्त हुँदै होइन ।
देश, विदेश, भूराजनीति र पार्टी बुझेका योग्य नेताहरूलाई पाखा लगाउने प्रयासले नेपाली कांग्रेसको एकता र साख मात्र होइन, भविष्य पनि कमजोर बनाउँछ । यसर्थ कांग्रेसको गरिमा र संगठनात्मक शक्ति जोगाउन कांग्रेसको नेतृत्व र जिम्मेवार व्यक्तिहरू सचेत बन्न जरुरी छ ।’
कोशीकै भौतिक पूर्वाधार मन्त्री प्रदीप सुनुवारलाई पनि कांग्रेस केन्द्रीय अनुशासन समितिले पाँच दिने स्पष्टीकरण सोधिसकेको छ ।
ओखलढुंगाका कांग्रेस उम्मेदवार कुमार लुईंटेलले ५ मतले हार ब्यहोरेको निर्वाचनमा सुनुवारले अन्तरघात गरेको आरोप छ । उनीविरुद्ध प्रमाण फेला परेको भन्दै केन्द्रीय अनुशासन समितिले उनीसहित विभिन्न प्रदेशका बहालवाला सांसद र मन्त्रीहरूलाई स्पष्टीकरण सोधेको थियो ।
View : 146
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved