Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

ठगी गिरोहमा संलग्न बंगलादेशी नागरिकसँग नेपाली नागरिकता

उद्घोष सम्वाददाता
२ चैत २०८०, शुक्रवार

विराटनगर । नेपाली नागरिकताको प्रयोग गरेर अनलाइन ठगी गर्ने वंगलादेशी गिरोहका सदस्यसँग नेपाली नागरिकता र राहदानी फेला परेको छ ।

गिरोहले फागुन २८ मा मोरङको सुन्दरहरैंचा नगरपालिका–८ स्थित सलकपुरमा स्थानीयबासीलाई भेला गरेर रकम दिंदै नागरिकताको फोटो खिचेको सूचना पाएपछि प्रहरीले पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा पक्राउ परेका मध्ये एक वंगलादेशी नागरिकसँग नेपालको नागरिकता र राहदानी फेला परेको प्रहरीले जनाएको छ । 

काडमाडौ नयाँ बजारकी २३ वर्षीया सुनिता खत्रीलाई २९ गते सलकपुरबाटै पक्राउ गरेको थियो । खत्रीको बयानका आधारमा वंगलादेशी नागरिकद्वय ४९ वर्षीय मोहमद महबुर हुसेन र ३७ वर्षीय मोहमद तानविर हुसेन प्रहरीबाट पक्राउ परेका थिए । तानविरको साथबाट तानविर मिया दर्जीको नामको नागरिकता र राहदानी फेला परेको छ ।

२०६३ सालमा रौतहट जिल्लाबाट बनाएको नागरिकता भएकाले वंगलादेशी नागरिक तानविरकै हो होइन भन्ने थप प्रमाणको खोजीमा लागिएको इलाका प्रहरी कार्यालय बेलबारीका निरीक्षक तेजबहादुर दाहालले बताए । वंगलादेशी नागरिकले नेपाली युवतीको प्रयोग गरी नेपालीहरुको नागरिकताको प्रतिलिपि संकलन गरेर अनलाइन ठगीको कारोबार गरेको प्रहरीको अनुमान छ ।

उनीहरुले आफूलाई अन्तर्राष्ट्रिय परोपकारी संस्थाको प्रतिनिधि बताउँदै ग्रामीण भेगका बासिन्दालाई रकम दिएर नागरिकताको फोटो खिचेर लगेका थिए । गिरोहले ब्यक्तिगत पहिचानको आधिकारी परिचयपत्र लिएर दुरुपयोग गरेको प्रहरीले जनाएको छ ।

नेपाली नागरिकताको प्रयोग गरी अनलाइन ठगी गर्ने गिरोहको उद्देश्य रहेको प्रहरीको भनाइ छ । उनीहरुले रकम दिएर ३० जना भन्दा बढीको नागरिकताको फोटो खिचेर लगेका थिए ।

सो गिरोहले आफूहरु परोपकारी संस्था ‘डब्लूबीएससी’ का प्रतिनिधि भएको जनाएर स्थानीयलाई एक हजार र १५ सय रुपैंयाँका दरले रकम बाँडेका थिए । विदेशी नागरिकले नेपाली युवतीको प्रयोग गरेर नेपालीलाई रकम दिंदै नागरिकताको प्रतिलिपि संकलन गर्दै आएको मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले बताए ।

नागरिकताको प्रयोग गरी सो गिरोहले डिजिटल वालेटहरुको खाता खोलेर ई–सेवा र खल्तीमा रकम जम्मा गर्ने उद्देश्य रहेको उनले जानकारी दिए ।

काठमाडौंमा गार्मेन्ट उद्योगमा काम गर्ने वंगलादेशीद्वयले नागरिकता संकलन गर्न केही दिनअघि नै खत्रीलाई लिएर मोरङ आएका थिए । उनीहरुको साथबाट प्रहरीले एनसेलको १५ वटा सीमकार्ड फेला पारेको छ ।

View : 187

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved