Biratnagar, Morang, Nepal
२८ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
समाज

सभाखोला हाइड्रोपावरमा लुटपाट गर्ने दुई पक्राउ

उद्‌घोष सम्वाददाता
१४ असोज २०८१, सोमवार

संखुवासभा । संखुवासभाको सभाखोला बी जलविद्युत आयोजनामा क्षति पुर्‍याई लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आयोजनाका कामदारलाई नियन्त्रणमा लिएर स्थानीय दुई युवाले गत भदौ २ मा लुटपाट गरेका थिए ।

संखुवासभाको सभापोखरी गाउँपालिका–३ मा अर्विट इनर्जी लिमिटेडले निर्माण गरिरहेको २१ दशमलव ५ मेघावाटको जलविद्युत आयोजनामा सभाखोला-५ सिकिदिमका २४ वर्षीय प्रविण लिम्बू र २३ वर्षीय सविन लिम्बूले लुटपाट गरेको प्रहरीले बताएको छ । उनीहरुले जलविद्युत आयोजनाको इन्टेक क्षेत्रका कामदारलाई धारिलो हतियार देखाएर लुटपाट गरेका थिए ।

प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार राति साढे १० बजे कामदारलाई कुटपिट गर्दै कब्जामा राखेर ६० हजार रुपैंयाँ मूल्य पर्ने मोबिल र हाइड्रोलिक पोखेर कामदारहरुबाट एक लाख १५ हजार रुपैंयाँ लुटिएको थियो ।

नगदसहित आयोजनाका बिभिन्न सामान उनीहरुले लुटेर लगेका थिए । जिल्ला प्रहरी र बाह्रबिसे प्रहरी चौकीको संयुक्त टोलीले उनीहरुलाई असोज १० गते पक्राउ गरी सदरमुकाम ल्याएको छ ।

लुटपाटपछि फरार  उनीहरु एक महिनापछि घरगाउँमै आएर बस्न थालेका थिए । लिम्बूद्वयलाई जिल्ला अदालत चैनपुरबाट मुलुकी अपराध संहिता २०७४ बमोजिम हिरासतमा राख्न अनुमति लिएर डाका मुद्दामा अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

यस्तै बैंकिङ कसुरमा फरार चैनपुर–६ का ४० वर्षीय  लाखबहादुर पौडेललाई संखुवासभा प्रहरीले शुक्रबार पक्राउ गरी मोरङ प्रहरीलाई बुझाएको छ । उनले दिएको चेक नसाटिएपछि मोरङमा बैंकिङ कसुरको मुद्दा चलेको थियो । ठेक्कापट्टाको काम गर्ने पौडेल शुक्रबार नै चेकमा उल्लेख भएको रकम तिरेर छुटेको मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए ।

यसैगरी बहुबिवाह मुद्दाका फरार अभियुक्तलाई प्रहरीले आठ वर्षपछि चैनपुरबाट पक्राउ गरेको छ । संखुवासभा धर्मदेवी नगरपालिका–३ का ४७ वर्षीय खड्गबहादुर थापालाई १० गतेनै पक्राउ गरिएको प्रहरीले बताएको छ ।

जिल्ला अदालत चैनपुरले २०७३ माघ २५ गते थापालाई एक वर्ष ६ महिना कैद र १० हजार रुपैंयाँ जरिवानाको फैसला गरेको थियो । फैसला भएदेखि फरार  थापा पुनः फर्किएको सूचनाका आधारमा पक्राउ गरी जिल्ला कारागार खाँदबारीमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

View : 198

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved