Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

मोरङमा ५२ हजारलाई पोलियो खोप लगाइँदै

उद्घोष सम्वाददाता
८ जेठ २०८१, मङ्गलवार

विराटनगर । मोरङमा पोलियो खोप (आईपीभी) लगाउन छुटेका ५२ हजार बढी बालबालिकाहरूलाई खोप लगाउने तयारी गरिएको छ । खोप कार्यक्रमका लागि ६ सय ७२ खोप केन्द्र तय भएका छन् । त्यहाँ ७ सय ८३ जना स्वास्थ्यकर्मी परिचालन गरिने जनाइएको छ ।

स्वास्थ्य कार्यालय मोरङले सोमबार आयोजना गरेको खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवालाहरूको बैठकमा खोप कार्यक्रमको बारेमा जानकारी गराइएको हो ।

खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति मोरङका अध्यक्ष अजम्बर राईको अध्यक्षतामा आयोजित बैठकमा स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत भरत भण्डारीले आईपीभी खोप अभियानको बारेमा जानकारी दिए ।

उनले २०७३ बैशाखदेखि २०७५ असोज महिनासम्म जन्मिएका साढे ५ बर्षदेखि ८ बर्षसम्मका बालबालिकाहरूलाई खोप लगाउने तयारी भइरहेको बताए । 

भण्डारीले पोलियो भाइरसबाट संक्रमण भएको व्यक्तिको मृत्यु समेत हुन सक्ने भएकोले सवैभन्दा जोखिमपूर्ण अवस्थामा हुने बालबालिकालाई खोप लगाउन आवश्यक रहेको बताए ।

पोलियो लागेका ९० प्रतिशत मानिसमा यसको चिन्ह वा लक्षण नदेखिने र पक्षघात समेत हुनसक्ने जनाइएको छ । पोलियोबाट बच्नका लागि सवैभन्दा प्रभावकारी उपाय पहिल्यै खोप लगाउनु रहेको खोप अधिकृत भण्डारीले जानकारी दिए ।

उनले पोलियो विरूद्धको खोप विश्व स्वास्थ्य संगठनको मान्यताप्राप्त भएको र आईभीपी खोप नै पोलियो विरूद्ध सवैभन्दा अन्तिम तथा बलियो विकल्प भएको बताए ।

जेठ १३ देखि २६ गतेसम्म सञ्चालन हुने खोप अभियान अन्तरगत मोरङमा ५२ हजार ३५२ जना बालबालिकाहरूलाई खोप लगाउने लक्ष्य लिइएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा.सुरेश मेहताले जानकारी दिए । उनले खोप केन्द्रहरू विद्यालयमा सञ्चालन हुने बताए ।

जिल्ला खोप समन्वय समितिका अध्यक्ष राईले तीनै तहका सरकारहरूको ध्यान भौतिक पूर्वाधार विकासमा मात्रै जाने गरेको गुनासो गरे । उनले खोप कार्यक्रमलाई प्रभावकारी बनाउने अभियानलाई पूर्णता दिन सवैको सहयोग आवश्यक रहेको बताए ।

View : 182

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved