पत्रकार सम्मेलनमा अध्यक्ष चौधरी बीचमा । तस्वीर: कमल/उद्घोष
विराटनगर । मोरङ कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले उनी आवद्ध पार्टीले गरेको निर्णय र सार्वजनिक खबरप्रति आपत्ति जनाएका छन् । उनले आफूले गरेका सबै काम पारदर्शी भएको दाबी गरेका छन् ।
चौधरीलाई कारवाही नगरे नेपाली कांग्रेसका जिम्मेवार पालिका स्तरका नेताहरूले सामूहिक राजीनामा दिने निर्णय गरेपछि त्यसको प्रतिरक्षामा उनले आफूविरुद्ध केही व्यक्ति पूर्वाग्रही भएर लागेको बताएका छन् ।
अध्यक्ष चौधरीले आइतबार पत्रकार सम्मेलन गर्दै यसअघि सञ्चारमाध्यममा सार्वजनिक भएको खबरमा सत्यता नभएको दावी गरे । गत चैत ३ गते कटहरी कांग्रेसको बैठकले चौधरीलाई पार्टीगत कारवाहीका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
चौधरीलाई पार्टीले कारवाही नगरे गाउँपालिका भित्र रहेका क्षेत्रीय र प्रदेश प्रतिनिधि, पालिका सभापतिसहित पदाधिकारी, वडाका सभापतिसहितले पदबाट राजीनामा दिने निर्णय गरेका थिए । बैठकमा नेपाली कांग्रेस मोरङका कार्यवाहक सभापति भक्ति माझी, क्षेत्रीय सभापति विनोद बस्नेत, जिल्ला सदस्य गोपाल साह, पालिका सभापति रामकुमार कामतलगायत सहभागी थिए ।
कांग्रेसबाट उमेदवार भई निर्वाचित भएपछि चुनावी घोषणापत्र र प्रचलित कानूनअनुसार बिना आग्रह पूर्वाग्रह सबै सरोकारवालाहरूसँग समन्वय र सहकार्य गरी कटहरीवासीका लागि काम गरिरहेको उनले बताए । पार्टी गाउँपालिका उपसभापति गोकर्ण भट्टराईसँग भ्रमणका लागि भन्दै आर्थिक सहयोग नमागेको उनको भनाइ छ ।
भट्टराईका भाइ राजेश भट्टराई र कटहरी पार्टी सभापति कामतकी छोरी सरिता कामतको सरुवामा कर्मचारीको मनस्थितिमा ह्रास आउने कुरा भएकाले नागरिकले पाउने सेवा चुस्त दुरुस्त बनाउन आन्तरिक सरुवा गरिएको चौधरीको भनाइ छ । बरु पार्टी सभापति एवं कटहरीका पूर्वअध्यक्ष कामतको कार्यकालमा भएको १५ करोड रुपैयाँ बेरुजु मिलान आफूले गर्दै आएको उनले बताए ।
‘बेरुजुमा मोरङका १७ पालिकामध्ये १७ औं नम्बरमा कटहरी थियो, अहिले ९४ प्रतिशत फर्छ्योट गरिएको छ’ अध्यक्ष चौधरीले भने–‘म ढलान गरेको घरमा जन्मिएको हुँ, बाबुको भए पनि मोटरसाइकलमै यात्रा गरेको परिवारबाट आएको हुँ ।’ अध्यक्ष चौधरीले आफूलाई लगाइएको आरोपको खण्डन गर्दै हुनेखाने परिवारको सदस्य भएकाले साना तिना समस्यामा सामना गर्न तयार रहेको तर्क गरे ।
हाटबजार सरकारी संरचना भएको ठाउँमा सार्न रोक्ने स्वार्थ समूह भएको बताउँदै चौधरीले पूर्वअध्यक्ष कामतले बिना धरौटी भिनाजुका नाममा विदेशी सवारीकर उठाउने ठेक्का लगाएको र त्यसको बेरुजु मिलान गर्न सम्बन्धित ब्यक्तिलाई पत्राचार गरिएको जानकारी दिए । आफू नेपाली कांग्रेसको महासमिति सदस्यमा निर्वाचित भएर आएको ब्यक्ति भएकाले तल्लो तहको पार्टी समितिको कारवाहीको सिफारिस सामान्य भएको चौधरीको भनाइ छ ।
लोहान्द्रा खोलाको बालुवा र भरौट निकाल्न लगाइएको ठेक्का आर.सी. सप्लायर्स एण्ड कन्ट्रक्सनका सञ्चालक रामकुमार श्रेष्ठ पालिकामा नआएर अबैध रुपमा उत्खनन् गर्ने ब्यक्तिहरू बिवाद गर्न आउने गरेको उनको दाबी छ ।
पालिकाले जिल्लाका प्रमुखहरूसहित अनुगमन गरेर ठेकेदारको माटो काट्ने उपकरण र ट्याक्टर नियन्त्रणमा लिएर एक लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ ।
View : 180
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved