विराटनगर । अन्तरजातीय प्रेमविवाह गरेका सुनसरीका एक युगल जोडीले जातीय उत्पीडन, डर–धम्की र निरन्तर दवाबका कारण घरबार छाड्न बाध्य भएको पीडा व्यक्त गरेका छन् ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ का २१ वर्षीय धनराज साह र सोही गाउँपालिका–६ की २० वर्षीय लक्ष्मी यादवले असार २९ गते परिवारको सहमति बिना नै भागेर विवाह गरेका थिए ।
तर विवाहपछि दुवै जनाले गाउँमै बस्न नसक्ने अवस्था आएपछि कहिले भारत त कहिले अन्यत्र लुकेर बस्न बाध्य भएको बताएका छन् ।
नेपाल पत्रकार महासंघ मोरङ शाखामा आएका पीडित दम्पतीले बेहुली पक्षका परिवारबाट निरन्तर रुपमा धम्की, दवाब र त्रास पाएको आरोप लगाए ।
पत्रकार सम्मेलनमा धनराज साहले बेहुली पक्षले आफू र परिवारलाई ज्यान मार्ने धम्की दिदै आएको र सोही कारण गाउँ त्याग्नु परेको बताए ।
उनका अनुसार आफूहरू गाउँ छाडेपछि ससुरा उपेन्द्र यादवले आफ्ना बाबु गुणानन्द साहलाई बाँधेर कुटपिट गरे पनि प्रहरी उजुरी लिन तयार नभएको आरोपसमेत लगाए ।
लक्ष्मी यादवका अनुसार विद्यालय जीवनमै उनीहरूबीच प्रेम सम्बन्ध थियो । विवाहको प्रस्ताव लिएर जाँदा दुबै पक्षका अभिभावक नमानेकाले अन्ततः भागेर विवाह गरेकोे उनले बताइन् ।
उमेर पुगेपछि राजीखुशी विवाह गरे पनि अहिले आएर आफ्नै परिवारले श्रीमानलाई झुटा मुद्दा लगाइ फसाउने प्रयास गरिरहेको उनले आरोप लगाइन् ।
लक्ष्मीले आफ्नो माइती पक्षले ज्वाइँ स्वीकार्न नमानेको र आफूलाई श्रीमान् छाडेर फर्कन लगातार दवाब दिइरहेको दाबी गरिन् ।
विवाहपछि गाउँपालिका–८ मा विवाह दर्ता गराइसकिएको जानकारी दम्पतीले दिएका छन् ।
लक्ष्मीले नागरिकता नबनेका कारण आफूलाई ‘नाबालिका’ देखाएर श्रीमानलाई अपराधी ठहराउने गरी विभिन्न निकायमा उजुरी पुर्याइएको र योजनाबद्ध रूपमा फसाउन खोजिएको आरोपसमेत लगाइन् ।
लक्ष्मीले स्थानीय विद्यालयमा कक्षा १० सम्म अध्ययन गरेकी छन् भने धनराजले इलेक्ट्रिकल डिप्लोमा गरेपछि रोजगारीको तयारीमा थिए ।
पीडित दम्पतीका अनुसार गत दशैंअघि देखिनै उनीहरूले घर–परिवार छाडेर सुरक्षा खोज्दै विभिन्न स्थानमा बस्दै आइरहेका छन् ।
पीडित दम्पतीले मानवअधिकारको संरक्षण, सुरक्षित बसोबास र स्वतन्त्र जीवनयापन गर्न पाउने अधिकार सुनिश्चित गर्न सम्बन्धित सबै निकायसँग आग्रह गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काले घटनाको बिषयमा दुवै पक्षको निवेदन आएको र सो बिषयमा अनुसन्धान भैरहेको बताए ।
View : 362
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved