विराटनगर : सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनमा रोक लगाउने ऐन कार्यान्वयनका लागि विराटनगर महानगरपालिकाले कडाइ गर्ने भएको छ ।
महानगरले सुर्तीजन्य पदार्थ बिक्री–वितरण र सेवनमा रोक लगाउन महानगरले जारी गरेको ऐन कार्यान्वयनका लागि अनुगमनलाई तीव्र पारेको जनाएको छ ।
दशैं, तिहार र छठ पर्वको लामो सार्वजनिक विदाका कारण महानगरको अनुगमन रोकिएको थियो । महानगरले जारी गरेको ऐन कार्यान्वयनका लागि सम्बन्धित शाखा र महाशाखालाई अनुगमन तीव्र पार्न निर्देशन दिइसकेको मेयर नागेश कोइरालाले जानकारी दिए ।
ऐनमा सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्ने मात्रै नभएर सेवन गर्नेलाई समेत १ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ । ऐन कार्यान्वयनका लागि अनुगमन गर्न महानगरले नगर प्रहरीका प्रमुख राजन पौडेललाई निरीक्षक तोकेको छ । महानगर क्षेत्रभित्र ऐन कार्यान्वयन भए–नभएको निरीक्षण गर्न र प्रचलित ऐन, नियम–कानुनको अधिनमा रही प्रभावकारी रुपमा अनुगमन गर्न नगर प्रहरी प्रमुख पौडेललाई जिम्मेवारी दिइएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिए ।
महानगरले गत वैशाख १ गतेदेखि सार्वजनिक स्थलहरूमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणमा रोक लगाएको थियो । त्यस्तै साउन १ गतेदेखि सुर्तीजन्य पदार्थ बिक्रीका लागि दिएको अनुमति खारेज गर्नुका साथ दर्ता गर्न रोक लगाएको थियो ।
त्यस्तै महानगरले साउनदेखि नै सुर्तीजन्य पदार्थ बिक्री र सेवनमा रोक लगाउन ऐनसमेत जारी गरिसकेको छ । सुर्तीजन्य पदार्थका बारेमा सूचना संकलनका लागि महानगरले सामान्य पोशाकमा नगर प्रहरी र कर्मचारीसमेत गोप्य रुपमा परिचालन गरेको जनाएको छ ।
खैनी, चुरोट, गुट्का, रजनीगन्धालगायतको सेवनका कारण क्यान्सरजस्तो प्राणघातक रोग लाग्ने र उपचारमा धेरै रकम लाग्ने भएका कारण बिक्री र सेवनमा रोक लगाइएको मेयर कोइरालाले बताए ।
बिहीबार गरिएको अनुगमनमा पौडेलसहित सरसफाई शाखा प्रमुख पुनमकुमार दाहालका साथै स्वास्थ्य, सरसफाई शाखाका कर्मचारी, जनपद प्रहरी, स्वास्थ्य अभियन्तालगायतको सहभागिता थियो ।
टोलीले बिहीबार विराट नर्सिङ होम, नोवेल मेडिकल कलेज र कोशी अस्पताल अगाडिका एक दर्जनभन्दा बढी पसलमा अनुगमन गरेको छ ।
सो क्रममा कपडा पसलमा समेत सुर्तीजन्य पदार्थ बिक्री गर्ने गरिएको फेला परेको छ । अनुगमनका क्रममा ठूलो मात्रामा गुट्का, खैनी, रजनीगन्धालगायतका सुर्तीजन्य पदार्थ फेला पारेको छ । दोस्रोपटक सुर्तीजन्य पदार्थ भेटिएको पसललाई महानगरले कारबाही प्रक्रियासमेत अगाडि बढाएको छ ।
View : 299
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved