उदयपुर । देशभर निर्माण सामग्रीको मूल्य दिनदिनै बढेको बेला सरकारको स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगभित्र साढे ६ करोड रुपैयाँ बराबरको गैंडा छाप सिमेन्ट अलपत्र अवस्थामा छाडेको पाइएको छ ।
उत्पादन भइसकेको सिमेन्ट व्यवस्थापकीय लापरवाहीका कारण उद्योगभित्र अलपत्र पारिएको हो । उद्योग व्यवस्थापनले सिमेन्ट प्याकिङ गर्ने बोरा किन्न पैसा नभएको जनाएको छ ।
जापान सरकारको सहयोगमा निर्मित देशकै गौरवको सिमेन्ट उद्योग आर्थिक संकट, कर्मचारी आन्दोलन र व्यवस्थापनको अकर्मण्यताले थला परेको सरोकारवालाहरूले बताए ।
उद्योगभित्र उत्पादन भएर तयार भएको सिमेन्ट गोदाममै थन्किंदै जाँदा उद्योगले करोडौंको आम्दानी गुमाएको र उक्त सिमेन्ट बिग्रिने जोखिमसमेत बढेको जनाइएको छ ।
गत माघ महिनासम्म उद्योग आंशिक रूपमा संचालनमा थियो । त्यसयता भने उद्योग पूर्ण रूपमा बन्द छ । प्याकिङ गर्ने बोराको अभाव देखाएर उत्पादन भइसकेको सिमेन्ट भकारीमै थन्किएर बसेको जनाइएको छ ।
उद्योग प्रशासन प्रमुख गम्भीरजङ खत्रीले प्रति बोरा ७ सय ७५ रुपैयाँका दरले हिसाब गर्दा हाल थन्किएर बसेको सिमेन्टको मूल्य करिब ६ करोड ३५ लाख ५० हजार रुपैयाँ हुन्छ ।
उनका अनुसार उद्योगसँग प्याकिङका लागि आवश्यक बोरा खरिद गर्ने रकमसमेत नभएकाले उत्पादित सिमेन्ट बजार पठाउन नसकिएको उनले बताए ।
पछिल्लो समय पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण सिमेन्ट प्याकिङ गर्ने बोराको मूल्य समेत वृद्धि भइसकेको जनाइएको छ ।
उद्योगको सिमेन्ट उत्पादन विभागका अनुसार हाल उद्योगभित्र ८२ हजार बोरा बराबरको सिमेन्ट भण्डारण छ । त्यसमध्ये करिब ५० हजार बोरा तयारी अवस्थाको सिमेन्ट भकारीमै थन्किएको छ ।
अरु २७ हजार बोरा उत्पादन गर्न पुग्ने क्लिङ्कर (चुनढुंगा) मौज्दात अवस्थामा रहेको जनाइएको छ ।
झण्डै ५ हजार बोरा सिमेन्ट प्याकिङ गर्ने ठाउँमै अलपत्र छाडिएको उद्योगकै कर्मचारीले जानकारी दिए । त्यसरी छाडिएको सिमेन्ट नष्ट हुन थालेको जनाइएको छ ।
उद्योगको उत्पादन विभाग प्रमुख नगेन्द्रप्रसाद देवले उत्पादन भएको सिमेन्ट समयमै प्याक गरेर बजार पठाउन पटक–पटक उद्योग प्रशासनलाई आग्रह गरिए पनि कुनै सुनुवाइ नभएको बताए ।
उनले अहिले देखिएको क्षति प्राविधिक कमजोरी नभई प्रत्यक्ष रूपमा व्यवस्थापकीय असफलताको परिणाम भएको भन्दै दोष अर्कोतिर पन्छाए ।
‘हामीले धेरै पटक बोरा व्यवस्थापन गर्न आग्रह ग¥यौं, तर कसैले गम्भीरतापूर्वक चासो दिएनन्,’ देवले भने, ‘प्याकिङ हाउसमा छरिएको सिमेन्ट अहिले नष्ट भइसकेको छ, उत्पादन भएर तयार भएको सिमेन्ट गोदाममै नष्ट हुने अवस्थामा पुग्दैछ, यो उद्योगका लागि मात्रै होइन, राज्यकै लागि लज्जास्पद हो ।’
प्रशासन प्रमुख खत्रीका अनुसार उद्योग प्राविधिक कारणले बन्द नभएको दाबी गरे ।
उनले अहिले पनि उद्योगलाई सञ्चालन गर्न सकिने अवस्थामा रहेको बताए । उनले भने ‘तर मर्मतका लागि पैसा छैन, उत्पादित सिमेन्ट प्याकिङ गरेर बेच्न बोरा किन्ने पैसा समेत छैन, जसका कारण उत्पादन भएको सिमेन्ट बेच्न नसक्ने अवस्था सिर्जना भएको छ ।’
हाल उद्योगमा १ सय ७७ जना कर्मचारी तथा मजदुर र ठेक्काबाट नियुक्त गरिएका ५९ जना सुरक्षा गार्ड कार्यरत छन् ।
उनीहरूको मासिक तलबभत्ता मात्रै एक करोड रुपैयाँभन्दा बढी पुग्ने जनाइएको छ । तर अधिकांश कर्मचारीहरूले झण्डै १५ महिनादेखि तलबभत्ता नपाएको गुनासो गर्दै आएका छन् ।
View : 95
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved