विश्वकप क्रिकेट लिग:
काठमाडौँ, ७ फागुन । आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक शृङ्खलाअन्तरगत आज भएको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई सात विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । यो जितले नेपाललाई भने शिर्ष स्थानमा पुग्न फाइदा पुर्याएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नामिबियाले दिएको १२४ रनको सामान्य लक्ष्य नेदरल्यान्ड्सले २७ दशमलव दुई ओरभमै तीन विकेटको क्षतिमा भेट्टाएको थियो ।
जितसँगै नेदरल्यान्ड्सले दुई खेलमा दुई अङ्क जोडेको छ । पहिलो खेलमा नेदरल्यान्ड्स नेपालसँग नौ विकेटले पराजित भएको थियो ।
समान दुई खेल नै खेलेको नामिबियाको पनि समान दुई अङ्क नै छ । पहिलो खेलमा नामिबियाले नेपाललाई चार विकेटले हराएको थियो । सोमबारको खेलमा नामिबिया नेदरल्याण्डसँग पराजित भएपछि नेपाल नेट रनरेटका आधारमा नेपाल शिर्ष स्थानमा पुगेको हो ।
नेदरल्यान्ड्सको जितमा माइकल लेभिटले सर्वाधिक ५७ रनको योगदान दिए । उनले ८१ बल खेल्दै आठ चौका र दुई छक्का प्रहार गरे । त्यसैगरी म्याक्स ओडोउडले २८ रन बनाउदा बास डी लिडेले अविजित २१ रन बनाए ।
नामिबियाका लागि कप्तान जेर्रार्ड एरास्मसले तीन विकेट लिएका थिए ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले ३५ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय २३ रनको योगफल बनाएको थियो । नामिबियाका लागि जेजे स्मिथले २६, जान ग्रिनले १९, रुबेन ट्रम्पलम्यानले २०, निकोलस डाभिन र कप्तान जेर्रार्ड एरास्मसले समान १३/१३ तथा वेर्नार्ड स्कोल्ट्जले १२ रन बनाए ।
नामिबियालाई सस्तैमा समेट्ने क्रममा नेदरल्यान्ड्सका आर्यन दत्त एक्लैले ६ विकेट लिए भने कायल केलिनले दुई विकेट झारे ।
त्यस्तै रोलेफ भान डेर मार्वे र म्याक्स ओडोउडले समान एक-एक विकेट झारे ।
View : 150
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved