Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

एमाले सुनसरी अधिवेशनमा हात हालाहाल

उद्घोष सम्वाददाता
६ जेठ २०८१, आइतवार

इटहरी । नेकपा एमालेको सुनसरी जिल्ला अधिवेशनमा जिल्ला अध्यक्ष रेवतिरमण भण्डारीले आफूलाई हातपात गरेको प्राडा बद्रीविशाल पोखरेलले आरोप लगाएका छन् । अध्यक्ष भण्डारीले हातपात गर्दा हातमा चोट लागेको प्राडा पोखरेलले बताए । पोखरेलको हातमा चोट लागेर रगत बगेको देखिन्छ ।  

अधिवेशनको बन्द सत्रमा प्रस्तुत प्रतिवेदनको विषयमा भनाभन हुँदा अध्यक्ष भण्डारीले धकेल्दै हातपात गरेको पोखरेलले बताए । भण्डारीले मुक्का प्रहार गर्न खोजेको र हातले छेक्न खोज्दा भण्डारीले लगाएको घडीले आफनो हातमा चोट लागेको उनले जानकारी दिए ।

हातमा लागेको चोट देखाउँदै डा पोखरेलले भने, ‘भनाभन हुँदा भण्डारीले मुक्का हान्न खोजे, मैले छेक्न खोज्दा उनको हातमा लगाएको घडीले मेरो हातमा लाग्यो । घडीले चोट लाग्यो रगत बग्न थाल्यो ।’

थप झगडा हुने देखेपछि अन्य प्रतिनिधिले भण्डारीलाई तानेर लगेको पोखरेलले बताए ।  हातमा चोट लागेपछि आफू अधिवेशन स्थलबाट बाहिरिएको उनले बताए । 

अधिवेशनको बन्द सत्रमा प्रस्तुत गरिएको प्रतिवेदनमा प्राडा पोखरेललाई कारबाही गर्नुपर्ने कुरा उल्लेख छ । सो प्रतिवेदन उपर आपत्ति जनाउँदै जवाफ मागेपछि आफू माथि हातपात गरिएको पोखरेलले आरोप लगाएका छन् । 

प्रतिवेदनमा स्थानीय तह निर्वाचन, प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा पार्टी उम्मेदवार विरुद्ध गतिविधि गर्नेहरूलाई कारबाही गर्ने कुरा उल्लेख गरिएको छ । सोही विषयमा ‘अन्य पार्टी अनुशासन उल्लंघन गरी कारबाहीको प्रक्रियामा रहेको’ शीर्षकमा प्राडा बद्रीविशाल पोखरेलको नाम पनि उल्लेख छ । पोखरेलले सोही विषयमा आपत्ति जनाउँदै जवाफ मागेको बताएका छन् ।

नेकपा एमालेको आठौं जिल्ला अधिवेशन इटहरीको लायन्स क्लबको भवनमा जारी छ । शनिबार उद्घाटन भएको अधिवेशनको आइतबारबाट बन्द सत्र सुरु भएको हो ।

View : 252

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved