Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

प्रधानमन्त्रीसामू विराटनगरका मेयर कोइरालाको गुनासो, ‘रिङरोड बनेन, कार्गो रेल फर्किएन’

उद्‌घोष सम्वाददाता
६ पुष २०८०, शुक्रवार

विराटनगर, ६ पुस । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरको विकासका लागि रिङरोड निर्माणदेखि कार्गो रेल सेवा संचालनसम्मका बिषयमा प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार मोरङ व्यापार संघ एक्स्पो–२०२३ को उद्घाटन गर्दै मेयर कोइरालाले विकास पूर्वाधारको अभावमा पछिल्लो समय विराटनगर पछि पर्दै गएको भन्दै प्रधानमन्त्री दाहाललाई पूर्वाधार निर्माणका क्षेत्रमा लगानी बढाइदिन आग्रह गरेका हुन् ।

उनले मुलुकको आर्थिक अवस्था अप्ठ्यारो स्थितिबाट गुज्रिरहेको बताउँदै प्रतिकूल अवस्थामा पनि उद्योगी व्यवसायीहरुले अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।

‘राजनीतिमा मात्रै होइन आर्थिक क्षेत्रमा पनि विराटनगरको छुट्टै पहिचानसँगै महत्व रहेको सर्वविदितै छ, विसं १९९३ सालमा नेपालकै सबैभन्दा पहिलो उद्योग विराटनगरमै स्थापना हुनुले यस क्षेत्रको औद्योगिक इतिहास ओजिलो र गर्विलो छ’ कोइरालाले भने, ‘तर पछिल्लो समय विराटनगर पछि परेको मैले मात्रै होइन आम विराटनगरवासीले महसुस गर्नु भएको छ ।’ 

उनले विराटनगरकोे गुमेको शाखलाई फर्काउनु सबैको दायित्व भएको बताए । कोइरालाले राजनीतिक र आर्थिक क्रान्तिमा विराटनगरको योगदान हुँदाहुँदै पनि विकासमा पछि परेको बताए ।

‘प्रमुख अतिथिका रुपमा सम्माननीय प्रधानमन्त्रीज्यू हुनुहुन्छ, राजनैतिक र आर्थिक क्रान्तिमा विराटनगरको योगदान हुँदाहुँदै पनि विराटनगर विकासमा पछि परेको छ’ उनले भने, ‘४२ किलोमिटर लम्बाई भएको विराटनगरको रिङरोडको उद्घाटन भएको २६ वर्षसम्म पनि बन्न सकेको छैन, गत जेठमा भारतीय समकक्षी र सम्माननीय प्रधानमन्त्रीज्यूबाट उद्घाटन गरिएको मालबाहक रेल उद्घाटनपछि फर्किएर आएको छैन ।’

उनले मालबाहक रेल नियमित संचालन गर्न सकिए उद्योगी व्यवसायीहरुको ढुवानी खर्च कम हुन गई उपभोग्य वस्तुको मूल्य पनि घट्ने र उपभोक्तालाई राहत पुग्ने बताए ।

कोइरालाले उद्योगी व्यवसायीहरुले प्रदर्शनीस्थल निर्माणको माग राख्दै आएको धेरै बर्ष भएकोले प्रदर्शनीस्थलको समस्या समाधान गर्न महानगर तयार रहेको बताए । त्यसका लागि जग्गा प्राप्ति गर्न सम्बन्धित पक्षसित पटक–पटक वार्ता र संवाद गरेको जानकारी दिंदै प्रदर्शनीस्थल अभावकै कारण हरेक वर्ष उद्योगी व्यवसायीहरुकै ठूलो धनराशी खर्च हुने गरेकोमा चिन्ता व्यक्त गरे । 

उनले विराटनगरलाई कोशी प्रदेशकै आर्थिक राजधानी बनाउने हो भने सुनसरीको अमरडुवास्थित सुगर मिलको स्वामित्वमा रहेको ६५० बिघा जग्गामा औद्योगिक ग्राम निर्माणको प्रक्रिया सुरु गर्नुपर्ने बताए । स्थानीय सरकार प्रमुखको हैसियतमा लगानीको वातावरण बनाउन र आर्थिक विकासमा भूमिका खेल्न आफु तयार रहेको बताए ।

कोइरालाले विराटनगर जुट मिल संरक्षणको अभावमा खण्डहरमा परिणत भएको भन्दै प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए । 

साथै जोगबनी–किमाथांका सडक निर्माण भइरहेपनि त्यसले गति लिन नसकेको तर्फ पनि प्रधानमन्त्रीसमक्ष जानकारी गराए । उनले उक्त सडक निर्माण सम्पन्न भए कोशी प्रदेशको राजधानी विराटनगर चीन र भारतको व्यापारिक केन्द्रका रुपमा स्थापित हुने दाबी गरे ।

‘जोगबनी–किमाथांका सडक भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो दूरीको सडक हुनुका साथै भौगोलिक हिसाबले पनि बाह्रै महिना सञ्चालन हुने अवस्था छ, यस हिसाबले पनि विराटनगर लगानीका लागि उपयुक्त र अत्यन्तै धेरै सम्भावना भएको ठाउँ हो भन्ने मलाई लाग्छ’ उनले भने, ‘विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउनुपर्छ, विमानस्थल निर्माणपछि यहाँबाट चीन, भुटान, बंगलादेश र भारतका विभिन्न सहर जान सहज हुने देखिन्छ, किनभने यी सबै देश विराटनगरबाट एकसय माइल वा त्यो भन्दा कम दुरीमा पर्दछन् ।’

उनले टर्मिनल भवन निर्माणाधिन भएपनि विमानस्थलको धावनमार्गलाई तीन हजार मिटर बनाउन सकिए ठूला विमानमार्फत अन्तर्राष्ट्रिय उडान गर्न सकिने बताए ।

मेयर कोइरालाले १६ करोडभन्दा बढी जनसंख्या भएको छिमेकी मुलुक भारतको बिहार राज्यसित जोडिएको विराट राजाको दरबार क्षेत्रको संरक्षण र विकास गर्न सकिए आन्तरिक र बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्ने दाबी गरे । 

उनले लुम्बिनीको मोडलमा विराट दरबार क्षेत्रको बृहत्तर विकास गर्नुपर्ने बताए । त्यसका लागि महानगरको स्रोतबाट सम्भव नभएकाले संघीय सरकारले नै विशेष ध्यान दिनुपर्ने बताए ।

View : 155

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved