सुनसरी । एघार करोड खर्चिएर निर्माण सम्पन्न भएको सुनसरीको इनरुवास्थित आधुनिक बसपार्कमा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको छ ।
निर्माण सम्पन्न भएको सात बर्षसम्म पनि सञ्चालनमा आउन नसकेको बसपार्कको टर्मिनल भवनमा प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालय सुनसरीको स्थापना गरी सञ्चालनमा ल्याइएको हो ।
कार्यालयको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार उदघाटन गरेका छन् ।
सवै जिल्लामा पूर्वाधार कार्यालय स्थापना गर्ने प्रदेश सरकारको निर्णय अनुसार बिहीबार सुनसरी र खोटाङमा यी कार्यालय खुलेका छन् ।
प्रदेश सरकारको सवैभन्दा धेरै बजेट खर्च गर्ने भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत प्रत्येक जिल्लामा पूर्वाधार विकास कार्यालय खोल्न २०८२ जेठ १९ गते बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो । सोही निर्णय अनुसार चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो दिन नै दुईवटा जिल्लामा कार्यालय स्थापना गरिएको हो ।
यसअघि खोटाङले ओखलढुंगामा रहेको कार्यालय र सुनसरीले मोरङमा रहेको पूर्वाधार विकास कार्यालयबाट प्रदेश सरकार अन्तरगतका पूर्वाधार विकाससम्बन्धि काम गर्नुपर्ने बाध्यता रहँदै आएको थियो ।
प्रदेशमा सहरी विकास कार्यालय र पूर्वाधार विकास कार्यालय गरेर नौवटा मात्रै कार्यालय थिए । सरकारको निर्णय कार्यान्वयनमा गएसँगै सबै जिल्लामा पूर्वाधार विकास कार्यालय पुग्ने जनाइएको छ ।
कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारलाई घर नजिकको सरकारका रुपमा स्थापित गर्न र जनतालाई महसुस हुने गरी काम गर्ने उद्देश्यले कोशी प्रदेशका १४ वटै जिल्लामा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको बताए ।
कार्यालय स्थापना भएसँगै नयाँ कार्यालयहरूले चालु आर्थिक वर्षमा गर्नुपर्ने काम असोज महिनाभित्रै अगाडि बढाउन कर्मचारीलाई निर्देशन दिएका छन् ।
उनले प्रत्येक जिल्लामा पूर्वाधार विकास कार्यालय स्थापना भएपछि ‘असारे विकास’ को प्रथा पनि अन्त्य हुने सरकारले विश्वास लिएको बताए ।
मुख्यमन्त्री कार्कीले आफ्नो सरकारका मन्त्रीहरूले प्राथमिकता निर्धारण गर्न नसक्दा समानुपातिक रुपमा बजेटको विनियोजन हुन नसकेको गुनासो आएको बताए । कार्यालय स्थापना पश्चात बजेट कार्यन्वयन सहज हुने बताए ।
कोशी प्रदेशकै ठूलो आयोजना कोशी रिफ्रेसमेन्ट सेन्टर यसै बर्षबाट सञ्चालनमा आउने दाबी गर्दै मुख्यमन्त्री कार्कीले दुई वर्षभित्रै अर्बौंका संरचना निर्माण गर्ने गरी सरकारले काम अघि बढाएको बताए ।
रामधुनी र कोशीटप्पुलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न लागिपरेको बताए । दुहवी–इनरुवा सडकको यसैबर्षबाट ठेक्का लगाएर निर्माण काम अगाडि बढाउने पनि बताए ।
इनरुवाको पुरानो बसपार्क जोखिमपूर्ण र व्यस्त सडकमा हुँदा सडक अवरोधसमेत हुँदै आएकाले नयाँ स्थानमा निर्माण भएको बसपार्क सञ्चालनका लागि पटक पटक समन्वय गर्दा पनि सञ्चालनमा ल्याउन नसकेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जानकारी दिए ।
लामो समयसम्म बसपार्क सञ्चालनमा आउन नसकेपछि अर्को ब्यवस्था नभएसम्म पूर्वाधार कार्यालय स्थापना गरी सञ्चालन गर्न दिइएको नगर प्रमुख भण्डारीले बताए ।
कार्यालय स्थापनाको अवसरमा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डल लगायतको उपस्थिति थियो ।
पूर्वाधार कार्यालयको सुनसरीमा भवन नहुँदा मोरङ कार्यलयबाटै काम हुँदै आएको अवस्थामा इनरुवा बसपार्कबाट कार्यालय सञ्चालन हुँदा कार्यसम्पादनमा सहजता आउने पूर्वाधार कार्यालय विराटनगरका प्रमुख सुशील श्रेष्ठले बताए ।
शहरी विकास मन्त्रालयले स्मार्ट सिटी योजना अन्तर्गत सात बर्षअघि निर्माण गरेको बसपार्क शहरी बिकास मन्त्रालयले इनरुवा नगरपालिकालाई हस्तान्तरण गरेपनि नगरपालिका र व्यवसायी बीचको किचलोका कारण अहिलेसम्म सञ्चालनमा आउन सकेको थिएन ।
विसं २०७५ सालमा पूर्वका प्रमुख तीन शहर विराटनगर, फिदिम र इनरुवामा अत्याधुनिक सुविधासहित बस टर्मिनल र बसपार्क निर्माण सम्पन्न भएका थिए ।
विराटनगर र फिदिमको बसपार्क सञ्चालनमा आएपनि किचलो आएपछि इनरुवाको बसपार्क सञ्चालनमा आउन सकेको थिएन ।
यसैबीच, भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले समेत बिहीबार नै खोटाङमा कार्यालय उद्घाटन गरेका छन् । उनले शुक्रबार सोलुखुम्बुमा कार्यालय स्थापना हुने जानकारी दिए । त्यसैगरी आइतबार तेह्रथुम र सोमबार ताप्लेजुङमा कार्यालय उद्घाटन हुने जनाइएको छ ।
View : 745
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved