सुनसरी । मोफसलकै प्रतिष्ठित अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करण फागुन २६ गतेदेखि हुने भएको छ ।
आयोजक धरान फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै फागुन २६ गतेदेखि चैत ३ गतेसम्म प्रतियोगिता हुने जानकारी दिएको हो । प्रतियोगितामा लिग च्याम्पियन चर्च ब्वाइज क्लबसहित ८ वटा क्लबले सहभागिता जनाउने क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए ।
प्रतियोगितामा थ्रीस्टार क्लब, न्यूरोड टिम एनआरटी, त्रिभुवन आर्मी क्लब, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा, जिल्ला फुटबल संघ मोरङ, आयोजक धरान फुटबल क्लब र भारतको यूके एफसीको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले ट्रफीसहित नगद १० लाख र उपविजेताले नगद ५ लाख पुरस्कार पाउनेछ । उत्कृष्ट खेलाडीले नगद १ लाख, प्रत्येक खेलको उत्कृष्ट खेलाडीले १० हजार र बिधागतरुपमा उत्कृष्ट हुनेले जनही नगद २५ हजार पाउने छन् । सर्वाधिक गोलकर्ताले ३५ हजार नगद पाउने अध्यक्ष तामाङले जानकारी दिए ।
धरान उपमहानगरपालिका संयोजक रहेको प्रतियोगितामा कूल ७७ लाख ६० हजार आम्दानी हुने र ६६ लाख ५५ हजार खर्च हुने आयोजकले जनाएको छ । आर्थिक मन्दीका कारण यस पटक मुनाफारहित गोल्डकप हुने क्लबका निवर्तमान अध्यक्ष किशोर राईले बताए ।
आर्थिक मन्दी र मदिराजन्य उत्पादनले प्रायोजन गर्न नपाउने सरकारको नीतिले प्रतियोगिता आयोजनामा ठुलो असर पुगेको भन्दै सो नीति पुर्नविचार गर्नुपर्ने क्लबको माग छ ।
प्रतियोगितालाई मितव्ययी बनाउँदै आर्थिक पारदर्शिता कायम गर्न प्रतियोगिता सकिएको एक महिनामै आयव्यय सार्वजनिक गर्ने पनि क्लबले प्रतिवद्धता जनाएको छ ।
यसपटक मुनाफारहित गोल्डकप हुनेभएकाले सरकारी तथा स्थानीय निकाय, सार्वजनिक व्यक्तित्व, संघसंस्था, राजनैतिक दल लगायतलाई सम्मान स्वरुपमा उपलब्ध गराउनुपर्ने पास र आर्थिक सहयोग गर्ने दाताबाहेक अन्यलाई पास उपलब्ध नगराउने प्रष्ट पार्दै क्लबले टिकट काटेर प्रतियोगितालाई सहयोग गर्न आग्रह पनि गरेको छ ।
यसैबीच गत बर्ष सम्पन्न २३ औं संस्करणमा १२ लाख ७४ हजार नाफा भएको क्लबले जनाएको छ । ७७ लाख २० हजार ३ सय २८ रुपैया आम्दानी भएको र ६४ लाख ४६ हजार खर्च हुदा १२ लाख ७४ हजार ३ सय २८ रुपैयाँ नाफा भएको क्लबका महासचिव नवीन राईले जानकारी दिए ।
View : 307
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved