विराटनगर । विराटेश्वर वृद्धाश्रमका संस्थापक जगत अर्याललाई पोखरमल राठी धर्म संस्कृति पुरस्कार प्रदान गरिएको छ । श्रीराधाकृष्ण मन्दिर समितिले सोमबार अर्याललाई १ लाख १ हजार राशिको उक्त पुरस्कार समर्पण गरेको हो ।
अर्यालले विराटनगरमा विराटेश्वर वृद्धाश्रमको स्थापना गरी लामो समयदेखि बेसहारा ज्येष्ठ नागरिकहरुको सेवा गरिरहेका छन । अर्याललाई वरिष्ठ चिकित्सक डा ज्ञानेन्द्रमानसिंह कार्की र श्रीराधाकृष्ण मन्दिर कार्य समितिका अध्यक्ष कैलाश रेग्मी लगायतले पुरस्कार प्रदान गरेका थिए ।
विराटनगर तिनपैनीका चम्पालाल राठी परिवारले सो पुरस्कार स्थापना गरेका हुन् । विसं २०६४ सालमा ११ हजार राशि प्रदान गर्ने गरी सो पुरस्कार स्थापना गरिएको थियो । त्यसपछि बर्सेनि पुरस्कारको राशि बढाउँदै लगिएको छ ।
सो कार्यक्रममा श्री राधारमण वेदवेदाङ्ग पाठशाला विराटनगर–४ का दिपसन रेग्मीलाई नारायणप्रसाद–महामाया भण्डारी छात्रवृत्ति पुरस्कार र श्रीलक्ष्मीनारायण वेद विद्याश्रम माध्यमिक विद्यालय पाञ्चालीका छात्र रोहित खतिवडालाई नथुनीप्रसाद जायसवाल छात्रवृत्ति पुरस्कार प्रदान गरिएको छ ।
यसैगरी विराटनगर–५ स्थित पाणिनी संस्कृत विद्यालयका प्रणिल आचार्यलाई हरिदेवी चापागाई छात्रवृत्ति पुरस्कार र लक्ष्मीनारायण संस्कृत गुरुकुल विराटनगर–४ का विष्णु घिमिरेलाई तारानाथ–पवित्रादेवी घिमिरे छात्रवृत्ति पुरस्कार प्रदान गरिएको छ । चारवटै पुरस्कारको राशि ५ हजार रहेको राधाकृष्ण मन्दिर कार्यसमितिका सचिव कृष्ण कार्कीले जानकारी दिए ।
यस्तै विराटनगर–३ स्थित पोखरिया माध्यमिक विद्यालयकी छात्रा रस्मिता आचार्यलाई १० हजार राशिको जगतबन्धु–अञ्जु कार्की छात्रवृत्ति पुरस्कार प्रदान गरिएको छ । मन्दिर समितिले प्रत्येक वर्ष जन्माष्टमीको अवसर पारेर ती पुरस्कारहरु वितरण गर्दै आएको छ ।
View : 122
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved