Biratnagar, Morang, Nepal
२८ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
खेलकुद

महिला लिग फुटबलमा आर्मी विजयी

उद्‌घोष सम्वाददाता
८ असोज २०८१, मङ्गलवार

काठमाडौँ, ८ असोज । राजधानीमा जारी एन्फा महिला लिग फुटबल प्रतियोगितामा चन्द्रा भण्डारीको ‘ह्याट्रिक’मा वालिङ नगरपालिकालाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स आज भएको खेलमा आर्मीले वालिङ नगरपालिकालाई ८–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । 

आर्मीका लागि चन्द्राका साथै विमला विक र अमिशा कार्कीले समान दुई–दई गोल गरे भने एक आत्मघाती गोल भएको थियो ।

खेलको ३८औँ मिनेटमा विमलाले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाइन् । 

त्यसपछि खेलको ४२औँ मिनेटमा चन्द्राले गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाइन् । 

उनले गोल गरेको दुई मिनेट बित्न नपाउँदै वालिङ नगरपालिकाकी खेलाडीले आत्मघाती गोल गरिन् ।

खेलको पहिलो हाफमा ३–० गोलअन्तरले अगाडि रहेको आर्मीले खेलको दोस्रो हाफमा पाँच गोल थप्यो । 

खेलको ५४औँ मिनेटमा चन्द्राले व्यक्तिगत दोस्रो गोल गरिन् भने उनैले खेलको ७३औँ मिनेटमा एक गोल थप्दै ह्याट्रिक पूरा गरिन् । 

त्यसैगरी, अमिशा कार्कीले ६१औँ र ७१औँ मिनेटमा गोल गरिन् । 

विमलाले खेलको ९०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् । 

खेलमा चन्द्रा ‘प्लेयर अफ दी म्याच’समेत घोषित भइन् ।

जितसँगै आर्मीले आठ खेलबाट १९ अङ्क जोड्दै अङ्क तलिकाको दोस्रो स्थानमा रहेको छ । 

समान आठ खेल खेलेको वालिङ १२ अङ्कका साथ अङ्क तालिकाको चौथो स्थानमा छ । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा जारी उक्त प्रतियोगितामा विभिन्न दश टोलीको सहभागिता रहेको छ । रासस

View : 132

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved