Biratnagar, Morang, Nepal
१६ वैशाख २०८१, आइतवार
+977 21 450305, 515728, 578305
वातावरण

अहिले देशभर कहाँ कहाँ भइरहेको छ वर्षा ?

आज सबैभन्दा बढि वर्षा सर्लाहीमा

उद्घोष सम्वाददाता
७ चैत २०८०, बुधवार

विराटनगर । सुख्खा मौसमका कारण वन डढेलो र आगलागीका घटना बढेकै बेला बुधबारदेखि देशभर आंशिक बदली भई धेरै ठाउँमा पानी परेको छ । काठमाडौँसहित देशका धेरै स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार बिहानैदेखि कोशी प्रदेशसहितका धेरै ठाउँमा पानी परेको हो । पहाडी जिल्लाहरूमा मेघ गर्जनसहित पानी परेको जनाइएको छ । 

काठमाडौँसहित सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली र मधेस प्रदेशका जिल्लामा वर्षा भइरहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशका जिल्लाहरूमा अहिले मेघ गर्जन र चट्याङसँगै हल्कादेखि मध्यम वर्षा र उच्च हिमाली भूभागमा हिमपात समेत भइरहेको महाशाखाका मौसमविद् सरोज पुडासैनीले बताए । 

पछिल्लो १२ घण्टामा सर्लाहीको चुरेमाईमा ३१ दशमलव ८ मिलिमिटर वर्षा भएको छ ।

सिन्धुलीमा ३० दशमलव २ मिलिमिटर, मकवानपुरको राजरैयाँमा १४ दशमलव ६, ललितपुरको लेलेमा १३ दशमलव ६, काठमाडौंको ढापड्याममा १० दशमलव ४ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ७ दशमलव ४ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विराटनगरमा भने २४ घण्टाभित्र २ दशमलव ३ मिलिमिटर वर्षा भएको जनाइएको छ ।

उच्च पहाडी तथा हिमाली जिल्लामा अहिले हल्का हिमपात भइरहेको मौसमविद् पुडासैनीले बताए । 

उनले भने, ‘काठमाडौंमा पानी पर्दा चिसो बढेको छ, हिमाली तथा पहाडी क्षेत्रमा हिमपात भइरहेको छ, शुक्रबारदेखि मौसम खुल्दै जानेछ ।’

काठमाडौंमा आज दिनभरी जसो केही समय पानी पर्ने र रोकिने क्रम चल्नेछ । त्यस्तै अवस्था कोशीमा पनि रहेको छ ।

अहिले काठमाडौंको वायुको तापक्रम १२ सेन्टिग्रेड, पारदर्शिता पाँच किलोमिटर मापन गरिएको छ । अधिकतम तापक्रम २१ देखि २३ सेन्टिग्रेड रहने अनुमान गरिएको छ ।

View : 158

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved