Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

दुई नाबालिकाको शव फेला प्रकरण, प्रहरीको चौतर्फी अनुसन्धान

दुई छोरी लिएर राति घर बाहिर गएकी श्रीमतीलाई अर्जुनले किन रोकेनन् ? वा रोक्न सकेनन् ? अथवा छोरीहरू उनीसँगै किन जान दिए ? यी प्रश्नको पनि उत्तर खोज्नु पर्ने प्रहरीको दायित्व हो ।
उद्‌घोष सम्वाददाता
१८ भदौ २०८१, मङ्गलवार

मोरङ । एक र तीन वर्षीया दुई नाबालिकाको शव फेला परेको घटनामा प्रहरीको अनुसन्धान आमामा केन्द्रित भएको छ । आमा फेला परेपछि मात्रै घटनाको बास्तविकता आउने बताइएको छ । मोरङ सुन्दरहरैंचा–७ को केराघारीमा शनिबार दुई बालिकाको शव भेटिएपछि प्रहरीले आमालाई खोजी जारी राखेको छ । 

नाबालिकाको शव नजिकै किटनासक औषधिको खाली बट्टा भेटिएकाले आमाले पनि सोही विषादी सेवन गरेर वनतिरै लडेको हुनसक्ने भएकाले आइतबार दिनभरी प्रहरीले जंगल ‘सर्च’ गरेको थियो । 

मालती टोल निवासी सीता रेग्मीको घरमा बस्दै आएका ३१ वर्षीय अर्जुन कार्की र २९ वर्षीया श्रीमती अस्मिता पौडेलका दुई सन्तानको शव शनिबार अपरान्ह केराघारीमा फेला परेको थियो । 

अस्मिताको मोबाइलनै त्यही भेटिएकाले मोबाइल फोनको लोकेशन हेरेर उनलाई खोज्न असम्भव भएपछि प्रहरीको अनुसन्धान चौतर्फी फैलिएको छ ।

अर्जुन र अस्मिताको सम्पर्कमा रहेका हरेक ब्यक्तिसँग प्रहरीले सोधपुछ थालेको छ । प्रहरीले अस्मिताको फोनको अन्तिम कल र लोकेशनका आधारमा अनुसन्धान गर्दैछ ।

श्रीमानसँगको सामान्य विवादमै आफुूले जन्माएका सन्तानको अस्मिताले हत्या नगरेको पनि हुन सक्ने प्रहरीको अनुमान छ । घटनाबारे हालसम्म केही पनि प्रमाण नभेटिएको मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए ।

इटहरीबाट संखुसभाको खाँदबारीसम्म यात्रुबाहक आˆनै निजी जिपको चालक रहेका अर्जुन र अस्मिताको विवाद भएपछि शुक्रबार बेलुका दुई छोरी लिएर घारबाट बाहिरिएकी अस्मिताको खोजिमा प्रहरीले ठूलो संख्यामा जनशक्ति परिचालन गरेको छ । 

दुई छोरी लिएर राति घर बाहिर गएकी श्रीमतीलाई अर्जुनले किन रोकेनन् ? वा रोक्न सकेनन् ? अथवा छोरीहरू उनीसँगै किन जान दिए ? यी प्रश्नको पनि उत्तर खोज्नु पर्ने प्रहरीको दायित्व हो ।

कोशी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक भीमबहादुर दाहाल अनुसन्धान सबैतिरबाट भई रहेको बताउँछन् । 

‘भावनामा डुबेर अनुसन्धान हुँदैन, हामी स्वतन्त्र अनुसन्धान गर्दैछौं, हरेक कोणबाट हाम्रो अनुसन्धान जारी छ’ दाहालले भने– ‘धेरैतिरको अनुसन्धान गरे पनि चुरो कुरोमा हामी लक्षित छौं, पोष्टमार्टम भएको छ, आमा बेपत्ता छ, केही समय लाग्छ यथार्थ आउन ।’

उत्तानो अवस्थामा रहेकी एक वर्षीया बालिकालाई तीन वर्षकी दिदीले कोल्टो परेर अंगालो हालेको र दुबैको टाउकोमा कपडाले छोपेको अवस्थामा शवको फोटो शनिबार सार्वजनिक भएको थियो । 

मृतकको टाउकोमा कपडा ओढाउनु मातृत्वको कारण हुन सक्ने भएकाले पनि हत्या आमाबाट हुन सक्नेमा प्रहरीको अनुमान लक्षित छ । मारेपछि शवको माया जन्म दिने आमाबाट मात्रै हुन सक्ने बताइन्छ ।

View : 172

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved