पूर्वमुख्यमन्त्री कार्कीको अनशनप्रति एमाले आक्रोसित
विराटनगर । कोशी प्रदेश सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले पूर्व मुख्यमन्त्री केदार कार्कीको अनशनलाई ‘नौटङ्की’ को संज्ञा दिएको छ ।
बुधबार कोशी प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोलेका एमालेका सांसद तिलचन पाठकले पूर्व मुख्यमन्त्री कार्कीको अनशनलाई अराजक र असंसदीय समेत भनेका छन् ।
‘अहिले कोशी प्रदेशमा अराजक, अमर्यादित, अनुशासनहीन र असंसदीय गतिविधिले हामी लज्जित भएका छौँ’ उनले भने, ‘यो अराजक हर्कतले संसदीय मूल्य मान्यताको धज्जी काढ्ने काम भएको छ, विशेषाधिकार समिति बनाएर यसको छानबिन गरेर कारवाही गर्नुपर्ने हुन्छ ।’
पाठकले सरकारले बालबालिकाको निःशुल्क उपचारको कार्यक्रम कटौती गरेको भनेर भ्रम फैलाएको आरोपसमेत लगाए । उनले सरकारले बजेट नकाटेको दाबी गरे ।
‘सरकारले कार्यक्रम कटौती गरेको छैन, उपचार कार्यक्रम निरन्तर छ’, उनले भने ‘बरु उहाँकै पालामा अस्पतालहरूले फर्जी बिल पेश गरेको कुरा आएको छ ।’
झापाका सांसद पाठकले पूर्व मुख्यमन्त्रीको अनशनलाई अराजक, असंसदीय भएको टिप्पणी गरे ।
उनले रातो किताबमा आएका योजनाहरू केदार कार्कीकै पालामा कटौती भएको आरोप लगाए । पाठकले अहिले कार्कीले उठाएका मागहरू सबै सरकारी योजनामा समेटिएको दाबी गरे । अनशनले संसद्को अपमान गरेको बताए ।
‘उहाँको अनशनले संसद्को समेत अपमान भएको छ’, उनले भने ‘कि लास्ट बेञ्चमा रहने सदस्यका रुपमा आफूलाई स्थापित गर्नुभएकोले उहाँको बुझ्ने क्षमता पनि हरायो कि ?’
सांसद पाठकले कार्कीसँग छलफल गर्न कार्यदल बनाउन एमाले तयार रहेको पनि बताए । त्यसका लागि उनले मुख्यमन्त्री कार्यालयमा आएर छलफल गर्नुपर्ने सुझाव दिए ।
यता कार्की भने प्रदेशका १० वर्ष मुनीका बालबालिकाको निशुल्क उपचार लगायतका कार्यक्रमहरू कटौती गरेको, शैलजा आचार्य हृदयरोग अस्पताललाई प्राथमिकता नदिएको लगायतका ९ बुँदे माग अघि सारेर मंगलबारदेखि आमरण अनशनमा बसेका छन् ।
कार्कीको अनशनप्रति काङ्ग्रेसका सांसदहरू भने मौन देखिएका छन् ।
View : 110
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved