Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
आर्थिक

बचत फिर्ता नपाएको धरणीधर सहकारीका पीडितको गुनासो

८ कार्तिक २०८१, बिहिवार

विराटनगर । आफूहरूले जम्मा गरेको बचत रकम फिर्ता नपाएको विराटनगर–७ स्थित धरणीधर बहुमुखी सहकारी संस्थाका पीडित बचतकर्ताहरूले बताएका छन् ।

उक्त सहकारीका पीडितहरूले बचत रकम फिर्ता गराइदिन सम्बन्धित निकायहरूसँग हारगुहार गरेका हुन् ।

विराटनगर–४ का राजकुमार कार्कीले आफूले जम्मा गरेको २९ हजार बचत रकम सहकारीले अपचलन गरिदिएको र अहिलेसम्म फिर्ता नदिएको बताए ।

सहकारीका सञ्चालक समितिमा रहेका व्यक्तिहरूले बचतकर्ताहरूले बचत फिर्ता माग्दा उल्टै धाकधम्की दिने गरेको र कतिपयले मोबाइल स्वीच अफ गरेर बसेको उनले बताए ।

किराना पसल सञ्चालन गर्दै आएका कार्कीले आफूले जम्मा गरेको बचत रकम फिर्ता नपाएपछि घरव्यवहार नै बिग्रिएको गुनासो गरे ।

विराटनगर–४ कै राजेन्द्र तिम्सिना पनि किराना पसले हुन् । उनले बचत गरेको ३४ हजार रूपैयाँ दुई बर्षदेखि फिर्ता नपाएको बताए ।

कार्की र तिम्सिना जस्तै सोही ठाउँका चन्द्रा भट्टराई, पिन्टु ठाकुर लगायतका साढे ३ हजार बढी बचतकर्ताहरू धरणीधर सहकारीबाट पीडित भएका छन् ।

उनीहरूले संगठित हुँदै रकम फिर्ताको प्रक्रियाका लागि अघि बढ्ने तयारी गरेका छन् ।

धरणीधर सहकारीले बचतकर्ताको एक करोड रूपैयाँ बढी बचत अपचलन गरेको जनाइएको छ । सञ्चालक समितिका सदस्यहरू गैरजिम्मेवार बन्दै बसेको पीडितहरूले बताए ।

सञ्चालक समितिको बेवास्ताले उक्त सहकारीका व्यवस्थापकलगायतका कर्मचारीहरू पनि अहिले तितरबितर भइसकेका छन् ।

धरणीधर बहुमुखी सहकारी संस्थाका अध्यक्ष रामबहादुर घिमिरे मोबाइल स्वीच अफ गरेर बस्ने गरेको पीडित चन्द्रा भट्टराईले बताइन् । यसअघि घिमिरेलाई बचतकर्ताहरूले घेरेपछि प्रहरीले उनलाई पक्राउ समेत गरेको थियो ।

View : 157

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved