Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

एमालेमा तेहेरिएका ओलीकै वर्चश्व

उद्‌घोष संवाददाता
४ पुष २०८२, शुक्रवार

जेनजी आन्दोलनबाट प्रधानमन्त्रीबाट हट्न बाध्य भएका केपी शर्मा ओलीलाई नेकपा एमालेले तेस्रोपटक पार्टी हाक्ने जिम्मेवारी सुम्पिएको छ । एमाले ११ औं महाधिवेशनको बिहीबार सार्वजनिक नतिजा अनुसार प्रतिष्पर्धी ईश्वर पोखरेललाई ठूलो मतान्तरले पराजित गर्दै ओलीले अध्यक्ष पदमा ‘ह्याट्रिक’ गरेका हुन् । 

अध्यक्षमा तेहेरिनकै लागि ओलीले पार्टीको विधान आफू अनुकूल संशोधन गराएका थिए भने नेतृत्वमा आफूलाई टक्कर दिन अघि बढेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नै खोसेका थिए ।

यति मात्रै होइन, आफूले निर्देशनात्मक मन्तव्य दिएर महाधिवेशन सकिने बताउँदै आएका ओलीको सर्वसम्मत अध्यक्ष बन्ने रहर भने यसपटक पनि अपूरै रहेको छ । ईश्वर पोखरेल समूहको चुनौतीले उनको यो रहर अधुरै रहेको हो । यद्यपि चुनावी नतिजामा भने ओली अत्यधिक मतान्तरले अगाडि रहे । 

अध्यक्षमा निर्वाचित ओलीले १६६३ मत प्राप्त गरेका छन्  भने पोखरेलले ५६३ मत मात्रै प्राप्त गरेका छन् । यसपटकको एमाले केन्द्रीय कमिटीको पदाधिकारीदेखि सदस्यसम्म ओली पक्षले वर्चश्व स्थापित गरेको छ । पोखरेल समूहले ओलीले आफूखुसी विधान परिवर्तन गरेर, आफूखुसी प्रतिनिधि मनोनयन गरेर मनपरी गरेको बताउँदै आएको थियो । 

जेनजी आन्दोलनपछि मुख्य दलहरूमा प्रमुख नेतृत्व परिवर्तनको मुद्दा व्यापक रूपमा उठिरहेका बेला एमालेले भने महाधिवेशनबाट त्यो मागलाई खारेज गरिदिएको छ ।

‘त्यति ठूलो जेनजी विद्रोह र त्यसको मागलाई एमालेले पूरै वेवास्ता गरेको छ’ राजनीतिक विश्लेषक केशव दाहाल भन्छन् ‘हामी जे थियौं, एकदमै ठीक थियौं । हामी जे चाहन्छौं त्यही गरेर छोड्छौं भन्ने प्रष्ट सन्देश एमालेले महाधिवेशनमार्फत दिएको छ ।’ 

एमाले पदाधिकारीमा ओली समूहले वर्चश्व स्थापित गरेको छ ।  उपाध्यक्षमा गोकर्ण विष्टबाहेक अरू चारै जना ओली प्यानलकै निर्वाचित भएका छन् । उपाध्यक्षहरूमध्ये पृथ्वी सुब्बा गुरूङ  सर्वाधिक मत पाएर विजेता बनेका छन् ।

गुरूङले उपाध्यक्षमा प्राप्त गरेको १७३७ मत सर्वाधिक हो । उपाध्यक्ष पदमै विष्णु पौडेलले १६७५ मत, रामबहादुर थापा बादलले १५१६ मत, गोकर्ण विष्टले १३६८ मत र रघुजी पन्तले १२५८ मत प्राप्त गरेर जीत हात पारेका छन् ।  महासचिवमा शंकर पोखरेल विजयी भएका छन् ।

१२२८ मत ल्याएर पोखरेलले प्रतिस्पर्धी सुरेन्द्र पाण्डेलाई हराएका हन् । पाण्डेले  ९९९ मत प्राप्त गरेका छन् । 

उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् ।  २२ सय २७ खसेको मतमा भट्टले सर्वाधिक  १४ सय ५२ मत पाएका छन् ।  

ईश्वर प्यानलबाट भट्टराई विजयी भएका छन् । महासेठले १३ सय ६८, भट्टराईले १३ सय ४८ मत पाएर जित्दा चौथो स्थानमा रहेका विष्णु रिमालले १ हजार ९१ मत मात्रै पाएका छन् । उनी पराजित भएका छन् । 

सचिवमा विजयीमध्ये सबैभन्दा बढी भोट महेश बस्नेतले प्राप्त गरेका छन् ।  १५३४ भोटसहित महेश शीर्ष स्थानमा रह“दा, १५३० भोटसहित पद्मा अर्याल दोस्रो स्थानमा छिन् । त्यस्तै छविलाल विश्वकर्मा, शेरधन राई र हिक्मत कार्की  मतका हिसाबले तेस्रो, चौथो र पाँचाै स्थानमा परेका छन् । 

 विश्वकर्माले  १५०६, राईले  १५०३ , कार्कीले १३३७,  खगराज अधिकारीले  १३३१,  यमलाल कँडेल  ११८५,  राजन भट्टराईले  ११८१ र भानुभक्त ढकालले ११०८ मत प्राप्त गर्दै सचिव बनेका छन् । ईश्वर प्यानलका  गोकुल बास्कोटा थोरै मतान्तरले सचिव बन्न रोकिएका थिए । दशौं बढी भोट ल्याएका उनले १०३० मत पाएका थिए । 
 

यी हुन् कोशीबाट चुनिएका पदाधिकारी 
 अहिलेको एमालेको पूर्व घटक संगठनहरू नेकपा माले र नेकपा मार्क्सवादीको उदगम थलो हो कोशी प्रदेश । २०२८ को झापा विद्रोहको जगमा जन्मेको माले र मनमोहन अधिकारी नेतृत्वमा रहेको मार्क्सवादीको मिलनबाट बनेको अहिलेको एमाले नेतृत्वमा कोशी प्रदेशबाट उल्लेख्य संख्यामा नेताहरू निर्वाचित भएका छन् ।  

अध्यक्षमा निर्वाचित केपी ओली झापा दमकका बासिन्दा हुन् । झापा ५ निर्वाचन क्षेत्र भएका ओली तेस्रोपटक एमाले अध्यक्ष बनेका हुन् । ताप्लेजुङका नेता  योगेश भट्टराई उपमहासचिवमा निर्वाचित भएका छन् । ईश्वर पोखरेल समूहबाट उम्मेदवार बनेका भट्टराई एमालेभित्र ओलीका आलोचकका रूपमा स्थापित नेता हुन् ।

यद्यपि दशौं महाधिवेशनयता मौनप्रायः रहेका उनी यसपटक ओलीविरूद्ध उभिंदै जीत हात पार्न सफल भएका छन् । 

कोशीबाट सचिव पदमा तीन जना निर्वाचित भएका छन् । ओली समूहबाट उममेदवार बनेका कोशीका पूर्व मुख्यमन्त्री शेरधन राई, हालका मुख्यमन्त्री  हिक्मतकुमार कार्की र मोरङ ३ बाट चुनाव लड्दै आएका नेता  भानुभक्त ढकाल सचिवमा निर्वाचित भएका छन् ।  शेरधन भोजपुरका हुन् भने कार्की झापाका हुन् । 

कोशीबाटै पदाधिकारीको उम्मेदवार बनेका केही नेताहरू भने पराजित भएका छन् । उपाध्यक्षको उम्मेदवार बनेका विराटनगरका गुरु बराल उपाध्यक्ष र केन्द्रीय सदस्य दुवै पदमा पराजित भएका छन् । एमालेमा पदाधिकारीमा उठ्नेहरूले केन्द्रीय सदस्यमा पनि उम्मेदवारी दिनुपर्ने प्रावधान छ । 

२०८१ साउनमा मनोनित बनेर उपाध्यक्ष बनेका बराल ११ औं महाधिवेशनबाट सोही पदमा निर्वाचित हुने दौडमा थिए ।  अध्यक्ष केपी ओलीको प्यानलबाट उम्मेदवार बनेर पराजित हुने थोरै पदाधिकारी उम्मेदवारमध्ये एक जना उनी बनेका छन् ।  

५ जना उपाध्यक्ष चुनिने एमालेमा बराल ११३७ मत पाएर छैटौं मात्रै बन्न सकेका छन् ।   पाँचौं नम्बरमा परेर उपाध्यक्ष जितेका रघुजी पन्त  (१२५८) भन्दा उनी १२१ मतले पछि रहे । 

कोशीका पूर्व मुख्यमन्त्री भीम आचार्य पनि उपाध्यक्ष र केन्द्रीय सदस्य दुवै पदमा पराजित भएका छन् । आचार्यले उपाध्यक्षमा २६५  मत प्राप्त गरेका छन् ।

 कोशीबाटै सचिवको उम्मेदवार बनेका लालबाबु पण्डित पनि पराजित भएका छन् । ओली समूहले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवार बनाउने भएपछि उनी  स्वतन्त्र रूपमा सचिव उठेका थिए । तर ७९६ मत पाउँदै  उनी पराजित बनेका छन् । उनले केन्द्रीय सदस्यमा भने जितेका छन् ।

झापाका अग्निप्रसाद खरेल  र मोरङका विनोद ढकाल पनि सचिवमा पराजित भएका छन् । खरेलले  ७१६  र ढकालले  ६८४ मत पाएका थिए । खरेल केन्द्रीय सदस्यमा जित्दा ढकाल भने पराजित भएका छन् । उनीहरू दुवै ईश्वर प्यानलका हुन् । 
 


 

View : 213

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved