विराटनगर । दिगो र आत्मनिर्भर आर्थिक विकासका लागि सरकार, निजी क्षेत्र र आम नागरिकको एकीकृत दृष्टिकोणको आवश्यक रहेको उद्योग संगठन मोरङको आयोजनामा भएको एक प्रतियोगितात्मक कार्यक्रमका सहभागीहरूले बताएका छन् ।
उद्योग र शैक्षिक क्षेत्र बीचको अन्तरसम्वादका माध्यमबाट सरकार, निजी क्षेत्र र आम नागरिकबीच सम्वन्ध अभिबृद्धि गर्ने उद्देश्यले आयोजित नेपालको दिगो एवं आत्मनिर्भर आर्थिक विकास विषयमा व्याख्यात्मक कार्यक्रममा सहभागीले यस्तो बताएका हुन् ।
उद्योग संगठन मोरङ र अमेरिकन कर्नर विराटनगरले संयुक्त रुपमा ऊक्त कार्यत्रम आयोजना गरेको थियो । प्रतियोगितामा विराटनगरका विभिन्न उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
विद्यार्थीहरूले दिगो र आत्मनिर्भर आर्थिक विकासका लागि सरकार, निजी क्षेत्र र आम नागरिकको एकीकृत दृष्टिकोणको आवश्यकता रहेको औल्याएका थिए । उनीहरूले मुलुकको आर्थिक एवं औद्योगिक समृद्धिका लागि सबै पक्ष बीचको सहकार्यको आवश्यकता हुने पनि बताए ।
उनीहरूले आर्थिक विकास र नयाँ रोजगारी सिर्जनामा उद्योग व्यवसायको महत्वपूर्ण भूमिका हुने भन्दै सरकारले लगानीमैत्री नीति निर्माण गरी कार्यान्वयन पक्षलाई सवलीकरण गर्नुपर्नेमा जोड दिएका थिए । नेपालको दिगो आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने जलश्रोत, पर्यटन, कृषि, सूचना प्रविधि, उत्पादनमूलक उद्योग, खनिजजन्य उद्योगको विकासका प्रचुर सम्भावना भएकाले नीतिगत सुधार गरी उक्त क्षेत्रमा लगानी अनुकुल वातावरण निर्माण गरे छिट्टै आर्थिक समृद्धि प्राप्त हुने सहभागी विद्यार्थीहरूले बताए ।
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले उद्योग र शैक्षिक क्षेत्र बीचको निरन्तर सम्वादले आर्थिक विकासको नयाँ क्षेत्र र सम्भावना पहिल्याउन सहज हुने विश्वास व्यक्त गरे । उनले सहभागी विद्यार्थीलाई देशमै स्वरोजगार भई रोजगारीका नयाँ अवसरहरू सृजना गर्ने क्षमता विकास गर्न आग्रह गरेका थिए ।
युवा पुस्ताले नयाँ सोच र अवधारणाका साथ प्रारम्भ गरेको र्स्टाटअपहरूले विश्व आर्थिक मञ्चमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै सुरानाले सोही अनुरुपको सोचका साथ स्वदेशमै उद्योग व्यवसायका क्षेत्रमा युवाहरू आउनुपर्ने बताए ।
ऊक्त कार्यत्रममा सहभागी विद्यालय/कलेजका विद्यार्थीहरूलाई दिगो र आत्मनिर्भर आर्थिक विकासको सम्भावना विषयमा व्याख्या गर्न आठ मिनेट समय दिइएको थियो ।
प्रतियोगितात्मक कार्यक्रममा बाल कल्याण विद्या मन्दिरकी स्वीकृति अधिकारी प्रथम भइन् । त्यसैगरी आदर्श उच्च माविका सुजन खत्री दोश्रो र सत्यनाराण उच्च माविकी सिवानी राउत तेश्रो भएको भइन् । उनीहरूलाई नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।
View : 155
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved