Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

विराटनगरमा कोभिडको फाइजर खोप लगाइदै

स्वास्थ्य मन्त्रालयबाट मोरङका लागि प्राप्त १० हजार खोपमध्ये ६ हजार फाइजर खोप विराटनगर महानगरलाई उपलब्ध गराइएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा सुरेश मेहताले जानकारी दिए ।
उद्घोष सम्वाददाता
२८ माघ २०८०, आइतवार

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र आगामी फागुन १ गतेदेखि कोभिड–१९ को फाइजर खोप लगाइने भएको छ । छिमेकी मुलुक भारतमा कोभिड–१९ को नयाँ भेरियन्ट फेला परेपछि जोखिम बढेको भन्दै महानगरले फागुन १ देखि ३ गतेसम्म ५० वर्षमाथिका उमेर समूहका व्यक्तिलाई खोप लगाउने भएको हो ।

दुईवटा खोप लगाइसकेका र खोप कार्ड भएका ५० वर्ष उमेर कटेकालाई खोप लगाइने महानगरपालिकाका मेयर नागेश कोइरालाले बताए । कोभिडको जोखिम बाँकी नै रहेकाले खोप लगाउने तयारी गरिएको उनको भनाइ थियो । 

महानगरअन्तर्गतका स्वास्थ्य चौकी र केन्द्रबाट फाइजर खोप लगाइनेछ । स्वास्थ्य मन्त्रालयबाट मोरङका लागि प्राप्त १० हजार खोपमध्ये ६ हजार फाइजर खोप विराटनगर महानगरलाई उपलब्ध गराइएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा सुरेश मेहताले जानकारी दिए । जनघनत्व बढी भएका कारण विराटनगरमा ६ हजार डोज खोप उपलब्ध गराइएको उनको भनाइ थियो । 

महानगरका सबै स्वास्थ्य चौकीबाट पहिलो चरणमा ५० वर्ष उमेर नाघेका र यसअघि दुईवटा खोप लगाइसकेका व्यक्तिहरूलाई फाइजर खोप लगाइने प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले बताए ।

यसैबीच, फागुन १३ देखि २२ गतेसम्म दादुरा–रूवेलाको खोप पनि लगाइने भएको छ । महानगरका खोप अधिकृत अमरदीप देवका अनुसार ९ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दादुरा–रूवेलाको खोप लगाउने तयारी भएको छ । बालबालिकाहरूलाई विद्यालयमै खोप लगाउने व्यवस्था मिलाइएको देवले जानकारी दिए । 

View : 135

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved