पूर्वमुख्यमन्त्री केदार कार्कीद्वारा कर्मचारी कुट्ने र थुन्ने धम्की
विराटनगर । अरु बेला सामन्य घटनामा पनि प्रेस विज्ञप्ति जारी गर्ने कर्मचारी संगठनहरूले यो घटनामा मौनता साँधेका छन् । कर्मचारी संगठनका एक नेता राजनीतिक नेता र प्रशासकबीच भनाभन हुनु, हप्कीदप्की खानु आफूलाई अनौठो नै लाग्न छाडेको बताउँछन् ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सचिवालयले सार्वजनिक चर्चामा ल्याएको सचिव लक्ष्मीप्रसाद भट्टराईलाई कुटपिट गर्ने र शौचालयमा थुन्ने धम्कीको घटना यतिखेर सामसुम भएको छ । सामाजिक विकास मन्त्रालयका सचिव भट्टराईलाई पूर्वमुख्यमन्त्री केदार कार्कीले कुट्ने, थुन्ने भनेर भोलिपल्ट सार्वजनिक भएको धाकधम्की र गालीगलौजको घटनाप्रति यतिखेर कसैको चासो देखिएको छैन ।
उक्त प्रकरणमा पीडित भनिएका सचिव भट्टराई स्वयंले आफूले एक जना हतियारी सुरक्षाकर्मीबाहेक केही नपाएको बताएका छन् । पूर्वमुख्यमन्त्री कार्कीमाथि यही साउन ७ गते सोमबार सचिव भट्टराईलाई कुट्ने, थुन्ने धम्की दिएको आरोप छ । भट्टराईलाई पूर्वमुख्यमन्त्री कार्कीले दिएको धाकधम्कीका बारे भोलिपल्ट मंगलबार दिउँसोसम्म कुनै मिडियामा समाचार नआएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सचिवालयले सञ्चारकर्मीहरूलाई टेलिफोन गरेर उक्त घटना सार्वजनिक जानकारीमा ल्याएको थियो । स्रोतका अनुसार वहालवाला मुख्यमन्त्री कार्की आफैले सचिवालयमार्फत घटना सार्वजनिक गरेका हुन् ।
घटना भएको भोलिपल्ट समाचार सार्वजनिक भएपछि पूर्वमुख्यमन्त्री कार्कीको सचिवालयले पनि विज्ञप्ति जारी गरी विषयलाई अतिरञ्जना गरिएको उल्लेख गरेको छ । कार्की मुख्यमन्त्री हुँदा प्रक्रियामा गइसकेको भुक्तानी सचिव भट्टराईले रोकेपछि सो विषयमा सोधखोजमात्रै गरेको कार्कीको सचिवालयले दावी गरेको छ । पूर्वमुख्यमन्त्री कार्कीलाई बदनाम गर्ने मनसायले अनर्गल कुप्रचार गरिएको पूर्वमुख्यमन्त्री केदार कार्कीको सचिवालयले जनाएको छ ।
यता घटना भएको यतिका दिनसम्म सो प्रकरणमा कर्मचारीसँग सम्बन्धित कुनै पनि संगठनले प्रतिक्रिया जनाएका छैनन् । अरु बेला सामन्य घटनामा पनि प्रेस विज्ञप्ति जारी गर्ने कर्मचारी संगठनहरूले यो घटनामा मौनता साँधेका छन् । कर्मचारी संगठनका एक नेताले राजनीतिक नेता र प्रशासकबीच भनाभन हुनु, हप्कीदप्की खानु आफूलाई अनौठो नै लाग्न छाडेको बताउँछन् । उनले विज्ञप्ति ननिकालेकै कारण यो प्रकरणमा कर्मचारी नेतृत्व चुपचाप छ भन्न नमिल्ले जिकिर गरे । ‘हामी यो प्रकरणमा गम्भीर पनि छौं, र जिम्मेवार पनि’ उनले भने ।
घटना भएको एक साता बित्दासमेत कर्मचारीमाथि दिएको धाकधम्कीका बारे मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले घटना बारे थाहा छ, अनुसन्धान हुँदैछ बाहेक केही भन्न सकेका छैनन् । उनले केही दिनअघि पूर्वमुख्यमन्त्री कार्कीसँग जोडिएको विषय राजनीतिक भएकाले सोही ढंगले छलफल विमर्श अघि बढिरहेको बताएका थिए । उनले पूर्वमुख्यमन्त्री कार्की प्रदेशसभा सदस्य पनि भएकाले कर्मचारीमाथि धाकधम्की दिएका विषयमा सभामुखसँग आफूले कुराकानी गरिरहेको बताए ।
पूर्वमुख्यमन्त्री केदार कार्कीबाट कुटपिट र हप्कीदप्की खाएका भनिएका सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले यो प्रकरणमा प्रमुख जिल्ला अधिकारीले घटनाको अनुसन्धान हुँदैछ भन्ने बाहेक आफूलाई अरु केही नबताएको बताए । ‘भेट त दिनैपिच्छे हुन्छ, बिहान ब्याडमिन्टन खेल्दा पनि हुन्छ’ उनले भने, ‘सीडीओ साबले अरु केही भन्नुभएको छैन, अनुसन्धान हुँदैछमात्रै भन्नुभएको छ ।’
धाकधम्की दिने पूर्वमुख्यमन्त्री कार्कीले घटना भएको यतिका दिनसम्म सिधा सम्वाद नगरेको पनि सचिव भट्टराईले बताए । यद्यपि पूर्वमुख्यमन्त्री कार्कीको सचिवालयका एक कर्मचारीले अब कुराकानी गर्नुपर्छ भनेर आफू मातहतको कर्मचारीसँग चाहिँ भनेको उनले बताए । ‘हाम्रा कर्मचारीले पनि टेलिफोनमा कुरा गरेर हुँदैन, यतै आएर भेटेरै कुरा गर्नुपर्छ भनिदिए छन्’ उनले भने ।
गत चैतमा भएको विराट गोल्डकपमा आफूले कबोलेको रकमको भुक्तानी नदिएको भनेर पूर्वमुख्यमन्त्री कार्कीले सचिव भट्टराईलाई गालीगलौज र कुट्ने थुन्ने धम्की दिएको आरोप छ । धाकधम्कीको घटनाको सार्वजनिक भने सचिव भट्टराईले प्रमुख जिल्ला अधिकारीलाई लेखेको निवेदनसहित मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सचिवालयले गरेको थियो ।
View : 137
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved